Province 5 फूलबारीका जितेश बने फर्साटिकर कपको 'द बेस्ट'
सुरज राना मगर

बुटवल । शनिबार सम्पन्न शुद्धोदन गाउँपालिका आठौं फर्साटिकर कपको सर्वोत्कृष्ट खेलाडी विजेता टोली फूलबारी गाईजका जितेश गुरुङ घोषित भएका छन् ।

प्रतियोगिताको शुरुवातबाट फाइनलसम्म फूलबारीलाई विजेता बनाउन अहम भूमिका खेलेका जितेशले पुरस्कार वापत नगद दश हजार र ट्रफी हात पारे । व्यक्तिगत विधातर्फ फूलबारी गाईज कै खेलाडीहरुको दबदबा पनि रह्यो ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पनि फूलबारीका अमानत शेख चुनिए । त्यस्तै उत्कृष्ट डिफेन्डर पनि फूलबारी कै अनिश तामाङ घोषित भए । उदियमान खेलाडीको पुरस्कार भने चाँदनी युवा क्लबका गोलरक्षक दिपेश परियारले हात पारे ।

त्यस्तै प्रतियोगिता भरि कुल ६ गोल गरेका भरतपुर फुटबल क्लबका जोन ग्लोरीले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । उनीहरुलाई जनही पाँच–पाँचहजार सहित ट्रफीका साथ पुरस्कृत गरिएको थियो ।

फूलबारी बनेको थियो च्याम्पियन

शनिबार सम्पन्न कडा प्रतिस्पर्धात्मक फाइनलमा फूलबारीले सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा ५–४ ले हराएको थियो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिकाको आयोजनामा गत पुष १० गतेदेखि शुरु प्रतियोगितामा रुपन्देही सहित पाल्पा, नवलपरासी, चितवन र कपिलवस्तुका गरि कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments