Province 5 चपरहट्टीको जितमा प्रवेशको निर्णायक गोल
सुरज राना मगर

बुटवल । चपरहट्टी युनाइटेड फुटबल क्लब जारी प्रथम चरङ्गे कप सेभेन ए साईड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको प्रिक्वाटरफाइनलतर्फ चपरहट्टीले तिलोत्तमा फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

देवदह–१० चरङ्गे स्थित चिसापानी खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा चपरहट्टीका लागि प्रवेश सारुले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच भने पराजित तिलोत्तमाका सन्तोष परियार घोषित भए ।

प्रतियोगिता अन्तरगत पुष २६ गते आइतबार दुई खेलहरु हुने खेल संयोजक गणेश परियारले जानकारी दिए । पहिलो खेलमा सौभाग्य युवा क्लब र त्रिशुली एफसी भिड्ने छन् भने दोस्रो खेलमा चरङ्गे इन्टरटेनमेन्ट र रम्भादेवी एफसी (ए) आमने सामने हुनेछन् ।

चरङ्गे फुटबल क्लब, देवदह–१० चरङ्गेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सागर थापाले बताए । प्रतियोगिताको फाइनल खेल भने आउँदो माघ २ गतेका दिन हुनेछ ।

Post Comments