Province 7 आयोजक महेन्द्रनगर युनाइटेडलाई उपाधि
गोलनेपाल

कञ्चनपुर । प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि आयोजक महेन्द्रनगर युनाइटेड (निलो) ले जित्न सफल भएको छ ।

महेन्द्रनगर स्थित खुलामञ्चमा सम्पन्न फाइनल भिडन्तमा आयोजक महेन्द्रनगरले पिएफए अत्तरीयालाई सडन डेथमा हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । त्यसअघि प्रतिस्पर्धात्मक निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

महेन्द्रनगरले खेलको ३६औं मिनटमा कप्तान टेकेन्द्र थापाको पेनाल्टी गोलबाट खेलमा अग्रता बनाएको थियो । यद्यपि आयोजकले त्यो अग्रता जोगाउन भने सकेन । उता ७१औं मिनटमा अत्तरीयाका लागि सन्तोष कार्कीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

खेल टाईब्रेकरमा पनि ४–४ को स्थितिमा पुगेपछि महेन्द्रनगरले सडन डेथमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो । फाइनल खेलको म्यान अफ द म्याच महेन्द्रनगरका आकाश बुढा घोषित भए । विजेता बनेको महेन्द्रनगरले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता पिएफएले ५० हजारमा चित्त बुझाउन बाध्य भयो ।

व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, रक्षक र सर्वाधिक गोलकर्ता क्रमश आकाश बुढा, किरन रावत र टेकेन्द्र थापा घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी र उदियमान खेलाडी महेन्द्रनगर युनाइटेडका सुनिल धामी र कुशल देउबा घोषित भए भने उत्कृष्ट मिडफिल्डर पिएफएका कृष्ण तामाङ चुनिए ।

महेन्द्रनगर युनाइटेड, कञ्चनपुरको आयोजनामा यहि माघ १२ गतेदेखि शुरु प्रतियोगितामा सुदुरपश्चिमका कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments