
काठमाडौं । दक्षिण एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिपको १३औं संस्करण आजदेखि माल्दिभ्समा भव्यताका साथ शुरु हुँदैछ ।
प्रतियोगिताका लागि माल्दिभ्स पुगिसकेको नेपालले आज पहिलो खेलमै आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । नेपाल र माल्दिभ्स बीचको खेल माले स्थित नेशनल फुटबल स्टेडियममा नेपाली समयअनुसार राती ९ः४५ बजेदेखि शुरु हुँदैछ ।
नेपाल र माल्दिभ्स अन्तिमपटक सन् २०१८ मा बंगलादेशमा सम्पन्न गत संस्करणको साफ च्याम्पियनसिपमा भिडेका थिए । सेमिफाइनल भिडन्तका रुपमा भएको सो खेलमा माल्दिभ्स ३–० ले विजयी भएको थियो । त्यति मात्र नभएर फाइनलमा भारतलाई २–१ ले हराउँदै माल्दिभ्सले दोस्रोपटक उपाधि नै जित्न सफल भएको थियो ।
नेपाल र माल्दिभ्सबीचको तथ्यांक हेर्ने हो भने इतिहास नेपालको पक्षमा छैन । यी दुई टोली समग्रमा १६ पटक आमने सामने भएका छन् । जसमा नेपालले ४ जित र ४ बराबरी खेलेको छ भने ८ खेलमा हार बेहोरेको छ । त्यति मात्र नभएर माल्दिभ्स विरुद्ध नेपालले खेलेको पछिल्लो तीन खेलहरुमा पनि लगातार हार बेहोरेको छ । जसमा गत संस्करणको सेमिफाइनलमा बेहोरेको त्यो ३–० को हार पनि सामेल छ ।
माल्दिभ्सलाई आज घरेलु मैदान र समर्थकको साथ रहने भए तापनि नेपाली टोलीका कप्तान किरन चेम्जोङले आफूहरु कुनै टोलीसँग पनि नडराएर उपाधि र निश्चित जितका लागि खेल्ने स्पष्ट पारिसकेका छन् । र नेपाल यसपटकको साफमा सुखद शुरुवात गर्न तयार पनि छ ।
आजको उद्घाटन खेल
त्यसअघि प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंका र बंगलादेशले खेल्ने कार्यक्रम छ । जुन स्थानीय समयअनुसार बेलुका ४ बजेदेखि शुरु हुने बताइएको छ । नेपाली समयअनुसार श्रीलंका र बंगलादेशबीचको त्यो खेल ४ः४५ बजेदेखि शुरु बताइएको छ ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न