South Asia फाइनल पुग्ने नेपालको त्यो टुटेको सपना
गोलनेपाल

काठमाडौं । साफ यु–२० च्याम्पियनसिपको फाइनल पुग्ने नेपालको झिनो सपना पनि भारतको जितसँगै समाप्त भएको छ । मंगलबार अहम मानिएको खेलमा नेपालले बलियो बंगलादेशससँग १–१ को बराबरी खेल्यो । जुन खेल नेपालले निश्चित रुपमा जित्नुपर्ने दबाब थियो ।

त्यो नतिजापछि नेपालको खातामा ७ अंक भयो भने बंगलादेशको खातामा १० अंक । त्यस अर्थमा बंगलादेश फाइनलमा पुग्ने निश्चित भयो भने नेपाललाई भारत र माल्दिभ्स विरुद्धको खेलको नतिजा पर्खनुपर्यो । नेपाललाई फाइनल पुग्न माल्दिभ्सले भारत विरुद्ध अप्रत्याशित नतिजा निकाल्नु पर्ने थियो ।

तर त्यसो हुन सकेन । खेलमा भारत १–० ले विजयी बन्यो । यो जितसँगै ४ खेलबाट ९ अंक जोड्न सफल प्रतियोगिताको साविक विजेता समेत रहेको आयोजक भारत समूहको दोस्रो स्थानमा रहेर फाइनल पुग्न सफल भयो । भारतको त्यो जितले नेपालको फाइनल पुग्ने झिनो सपना पनि समाप्त बन्यो ।

लिग चरणमा भारतसँग नेपालले बेहोरेको ८–० को हार पनि नेपालको यात्रामा अर्को कारक बन्यो । मंगलबारको नतिजापछि नेपालले तेस्रो स्थानमा रहेर प्रतियोगिताको समापन गर्यो । पुछारमा १–१ अंक जोडेका माल्दिभ्स र श्रीलंका रहे ।

अब उपाधिका लागि भारत र बंगलादेश फाइनलमा भिड्ने छन् । जुन खेल शुक्रबार भुवेनश्वर स्थित कालिंगा स्टेडियम मै हुनेछ ।

Post Comments