South Asia नेपाल र बंगलादेशको फाइनल भिडन्तः बदला लिने पनि अवसर
गोलनेपाल

काठमाडौं । साफ यु–२० महिला च्याम्पियनसिपको फाइनलमा आज नेपालले आयोजक तथा उपाधिको बलियो प्रत्याशी बंगलादेशससँग उपाधिका लागि भिड्दैछ ।

समूह चरणमा पहिलो खेलमै बंगलादेशसँग ३–१ ले पराजित भएको भएको नेपालले सनसनीपूर्ण पूनःरागमन गर्दै फाइनलसम्मको यात्रा तय गर्न सफल भयो । यद्यपि नेपाल र बंगलादेशबीचको यो पहिलो फाइनल भने होईन ।

यसअघि सन् २०१८ मा भुटानमा साफ यु–१८ महिला च्याम्पियनसिपका रुपमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा पनि यी दुई टोली भिडेका थिए । त्यतिबेला बंगलादेशले नेपालमाथि १–० को जित निकाल्दै उपाधि जित्न सफल भयो ।

यही प्रतियोगिता यसअघि यु–१८ र यु–१९ का रुपमा तीनपटक सम्पन्न भईसकेको छ । र तीनैपटक फाइनलमा पुग्ने बंगलादेश एक्लो टोली समेत हो । जसमा उसले दुईपटक उपाधि पनि जितेको छ । साथै गत संस्करण यु–१९ महिला च्याम्पियनसिपका रुपमा बंगलादेश मै भएको प्रतियोगितामा पनि घरेलु टोलीले नै कब्जा जमाएको थियो ।

यसपटक पनि बंगलादेशको लक्ष्य उपाधि नै छ । त्यही लक्ष्यमा नेपाल पनि अडिग छ । जारी प्रतियोगितामा कुल ३–३ खेल खेलेका नेपाल र बंगलादेशले समान ८–८ गोल गरेका छन् भने नेपालले दुई गोल खाएको छ । उता बंगलादेशले भने एक गोल मात्र खाएको छ ।

बंगलादेशले लिग चरणमा नेपाल र भुटानलाई हरायो भने भारतसँग बराबरी खेलेको थियो । नेपालले भने बंगलादेशसँग मात्र हार बेहोर्यो र भुटानलाई हराउनुका साथै अर्को निर्णायक मानिएको खेलमा भारतलाई पनि ३–१ ले स्तब्ध तुल्याएको थियो ।

नेपाली टोलीका प्रशिक्षक यम प्रसाद गुरुङ्गले विपक्षी टोलीको कमजोरी आफूले बुझेको र सोही अनुसार रणनीति बनाएर फाइनलमा उत्रिने बताइसकेका छन् । उता कप्तान प्रिती राईले पनि नेपाल उपाधिका लागि तयार रहेको तथा फाइनलमा बंगलादेशलाई कडा चुनौति दिने पनि बताएकी छिन् ।

जे होस, आज ढाकामा हुने फाइनल भिडन्त समग्रमा नेपालका लागि बंगलादेशसँग पछिल्ला संस्करण र यसै प्रतियोगिताको लिग चरणमा बेहोरेको हारको बदला लिने अवसर पनि छ । त्यति मात्र नभएर नेपाल यसपटक उपाधि कै बलियो प्रत्याशीका रुपमा पनि उभिएको स्पष्ट छ ।

खेल आज नेपाली समयअनुसार बेलुका ५ः४५ बजेदेखि शुरु हुनेछ ।

Post Comments