South Asia शानदार जितका साथ किरनको टोली पञ्जाब बन्यो आई लिग च्याम्पियन
गोलनेपाल

काठमाडौं (एजेन्सी) । शानदार जितका साथ नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङको टोलीले चर्चित हिरो आई लिग २०२२–२३ को सिजन जित्न सफल भएको छ ।

शनिबार भएको लिगको आफ्नो २१औं खेलमा पञ्जाबले राजस्थान युनाइटेड एफसीलाई ४–० को फराकिलो अन्तरले हरायो र एक खेल बाँकी छँदै लिग च्याम्पियन बन्न सफल भएको हो ।

डाक्टर अम्बेडकर स्टेडियममा भएको खेलको १६औं मिनटमै यश त्रिपाठीको आत्मघाती गोलबाट पञ्जाबले खेलमा अग्रता बनाएको थियो । ४१औं मिनटमा लुका माज्सेनले त्यो अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ७६औं मिनटमा जुआन मेराले तेस्रो गोल गरे भने खेलको अन्तिमतिर मिङथनमविआले चौथो गोल गर्दै पञ्जाबको शानदार जित पक्का गरे ।

स्मरण रहोस, पञ्जाबले यसअघि अन्तिमपटक सन् २०१७–१८ को सिजनमा मिनर्वा पञ्जाबका रुपमा लिग च्याम्पियन बनेको थियो । त्यतिबेला पनि किरन चेम्जोङ टोलीका अहम सदस्य थिए र उत्कृष्ट गोलरक्षक पनि चुनिएका थिए ।

शनिबारको जितपछि २१ खेलबाट ४९ अंक जोडेको पञ्जाब शिर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको श्रीनिदी डेक्कनले एक खेल कम खेलेको छ र उसको ४१ अंक छ । त्यस्तै पञ्जाबसँग पराजित राजस्थान भने २५ अंकका साथ आठौं स्थानमा छ ।

लिग च्याम्पियन बनेसँगै पञ्जाबले अर्को सिजन प्रतिष्ठित इण्डियन सुपर लिग खेल्ने पनि पक्का भएको छ ।

त्यस्तै यस सिजन आई लिग मै आवद्ध भएका नेपालका अर्को चर्चित फरवार्ड अन्जन बिष्टको टोली केन्क्रे एफसी भने यसअघि नै रेलिगेशनमा परिसकेको छ । केन्क्रेको २० खेलबाट १६ अंक मात्र छ र लिगतालिकाको पुछारबाट दोस्रो ११औं स्थानमा छ । तालिकाको पुछारमा भने १३ अंक मात्र जोडेको सुदेवा दिल्ली रहेको छ ।

Post Comments