South Asia अर्को बृटिश खेलाडीले पनि पाकिस्तानका लागि खेल्ने
गोलनेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलमा राम्रो प्रभाव छाड्न प्रयास गरिरहेको पाकिस्तानले पाकिस्तानी मूलका युरोपियन खेलाडीहरुलाई आफ्नो देशबाट खेलाउन हरसम्भव प्रयास गरिरहेको छ । र यसमा सफल पनि भईरहेको छ ।

यसैक्रममा पाकिस्तानका लागि अर्को बृटिश खेलाडी आदिल नाबीले पनि खेल्ने पक्का भएको छ । हाल ग्रीक क्लब एथेन्स कालिथिया एफसीका लागि व्यवसायीक फुटबल खेलिरहेका यी २९ वर्षिय आक्रमक मिडफिल्डरले फिफा विश्वकप छनौटतर्फ पाकिस्तान लागि खेल्ने आधिकारिक रुपमा घोषणा गरेका छन् ।

स्मरण रहोस, पाकिस्तानले विश्वकप छनौटमा अहिलेसम्म कुनै खेल जित्न सकेको छैन । तर यसपटक भने अन्तर्राष्ट्रिय फुटबलमा पाकिस्तानले बलियो टिम तयार पार्ने अभियानमा छ । र त्यसमा सफल पनि भईरहेको छ । पाकिस्तानी टोलीमा हाल करिब ७–८ युरोपियन क्लबमा खेलिरहेका खेलाडीहरु सामेल भईसकेका छन् । र उनीहरु हाल आउँदो साफ च्याम्पियनसिपको तयारीमा पनि व्यस्त छन् ।

यता इङल्याण्डको यु–१६ र यु–१७ खेलिसकेका आदिल नाबीले भने जुनमा हुने अन्तर्राष्ट्रिय फुटबलमा पाकिस्तानका लागि खेल्न नसक्ने बताएका छन् । जसको अर्थ उनी साफ च्याम्पियनसिपमा पाकिस्तानका लागि उपलब्ध नहुने निश्चित छ । तर उनी फिफा विश्वकप छनौटका लागि पाकिस्तानी जर्सीमा जेखिने पक्का भईसकेको छ ।

चर्चित इङलिस क्लब वेस्ट ब्रोमविचको एकेडेमीबाट फुटबल करियर शुरु गरेका आदिल आक्रमक मिडफिल्डर भए तापनि फरवार्डका रुपमा खेल्न पनि माहिर छन् । व्यवसायीक क्लब फुटबलमा कुल १८२ म्याच खेलिसकेका आदिलले २१ एसिस्ट र ४१ गोल समेत गरिसकेका छन् । र उनको आगमनले पाकिस्तानी टोली थप बलियो बन्ने अनुमान गरिएको छ ।

Post Comments