South Asia कतारसँग निरीह बन्यो बंगलादेश (भिडियोसहित)
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को दोस्रो चरणको छनौट खेल अन्तरगत बंगलादेशले एसियन च्याम्पियन कतारसँग हार बेहोरेको छ ।

दोहा स्थित जसिम बिन हमाद स्टेडियममा भएको खेलमा कतारले बंगलादेशमाथि ५–० को एकतर्फी जित निकाल्यो । स्मरण रहोस, यसअघि गत बर्ष अक्टुबरमा ढाकामा भएको खेलमा कतारले बंगलादेश विरुद्ध २–० को जित निकालेको थियो ।

शुक्रबार कतार विरुद्ध शुरुवातबाटै दबाबमा रहेर खेलेको बंगलादेशले नवौं मिनटमा पहिलो गोल खान पुगेको थियो । कतारका लागि पहिलो गोल अब्दुलाजिज हातिमले गरे ।

३३औं मिनटमा अकरम अलिफले त्यो अग्रता दोब्बर पारे । पहिलो हाफसम्म २–० को अग्रता बनाएको कतारले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो ।

अल्मोज अलीले ७२औं मिनटमा पेनाल्टीबाट पहिलो गोल गरे भने लगतै ७८औं मिनटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । तर कतार त्यति मै रोकिएन खेलको अन्तिमतिर इन्जुरी समयमा अकरम अलिफले पनि व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गर्दै एसियन च्याम्पियनको सहज जित पक्का गरे ।

शुक्रबारको खेलपछिको आँकडा

शुक्रबारको नतिजापछि ६ खेलबाट १६ अंक जोडेको कतार शिर्ष स्थानमा उक्लिएको छ । स्मरणीय छ, कतार सन् २०२२ मा हुने फिफा विश्वकपको आयोजक राष्ट्र समेत हो । कतारले अब समूह चरणतर्फ ओमान र भारतसँग खेल्न बाँकी छ ।

उता बंगलादेशको भने ५ खेलबाट पनि १ अंक नै छ । बंगलादेशले अब ओमान, भारत र अफगानिस्तानसँग खेल्न बाँकी छ र उसको एसियन कप खेल्ने सम्भावना पनि कायम नै छ ।

समूह ई मा बंगलादेश र कतार बाहेक ओमान, भारत र अफगानिस्तानले ५–५ खेल खेलेका छन् । ओमान १२ अंकका साथ दोस्रो स्थानमा रहँदा अफगानिस्तान ४ अंकका साथ तेस्रो तथा भारत ३ अंकका साथ चौथो स्थानमा छ । समूह चरणका बाँकी खेलहरु अब आगामी बर्ष (२०२१) मा हुने बताइएको छ ।

बंगलादेश र कतारको आगामी खेलहरु

बंगलादेश र कतारले आफूले खेल्ने खेलहरु अब सन् २०२१ मा खेल्ने छन् । जहाँ बंगलादेशले भारत, अफगानिस्तान र ओमानसँग खेल्न बाँकी छ भने कतारले ओमान र भारतसँग मात्र खेल्न बाँकी छ । साथै यी दुई टोलीका बाँकी खेलहरु आउँदो बर्षको मार्च र जुनमा हुने सम्भावना छ तर मिति भने तय भइसकेको छैन ।

 

Post Comments