Province 1 सहिदभूमि गाउँपालिका सेमिफाइनलमा
गोलनेपाल

छथर जोरपाटी । दोस्रो अन्तरपालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको आज सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा सहिदभूमि गाउँपालिकाले छथर गाउँपालिका (तेह्रथुम) लाई सडन डेथमा ४–३ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए। छथर गाउँपालिकाका लागि खेलको दोस्रो मिनेटमा रुपेश शिवाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा दुवै टोलीले गोल गर्ने केही राम्रो अवसर सिर्जना गरे पनि थप गोल हुन नसक्दा छथर गाउँपालिकाले १–० को अग्रता कायम राख्दै पहिलो हाफ समाप्त गरेको थियो।

दोस्रो हाफमा पनि दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल भए तापनि छथर गाउँपालिकाले थप गोल गर्न सकेन। खेलको इन्जुरी समयमा सहिदभूमि गाउँपालिकाका राज राईले महत्वपूर्ण बराबरी गोल गरेपछि खेल १–१ को अवस्थामा पुगेको थियो।

निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टी सुटआउटमा पनि दुवै टोली ३–३ गोलको बराबरीमा रहेपछि खेल सडन डेथमा पुगेको थियो।

सडन डेथमा सहिदभूमि गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै छथर गाउँपालिका (तेह्रथुम) लाई ४–३ गोलले पराजित गर्यो र प्रतियोगिताको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। खेलको प्लयेर अफ द म्याच गोलकिपर मन्जिल राइ घोषित भए ।

प्रतियोगिताको बिजेताले एक लाख पचास हजार साथमा ट्रफी मेडल दोस्रो हुनेले ७५ हजार साथमा ट्रफी मेडल प्राप्त गर्नेछ ।

Post Comments