हरिवन । चतुर्भुजेश्वर खेलमैदान हरिवन नगरपालिका वडा नं १० सुखेपोखरी सर्लाहीमा जारी प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कप अन्तर्गत बुधबार प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेल वेंगाडावर युवा क्लब धनुषा र चन्द्रपुर बोइज रौतहटबिच सम्पन्न भएको छ।
प्रतिस्पर्धात्मक उक्त खेलमा चन्द्रपुर बोइज रौतहटलाई १-० गोलको साँघुरो नतिजामा पराजित गर्दै वेंगाडावर युवा क्लब धनुषा सेमिफाइनल प्रवेश गर्ने दोस्रो टोली बनेको हो। धनुषाको जितमा दोस्रो हाफमा सञ्जीव कार्कीले एकमात्रै निर्णायक गोल गरेका हुन्। निर्णायक गोल गरेसँगै उनी प्लेयर अफ द म्याच चुनिँदै नगद रु.२५०० सहित ट्रफी प्राप्त गरे।
बिहिबार प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल अन्तर्गत सिराहाको गोलबजार स्पोर्ट्स क्लब र बाराको नव जन जागृति युवा क्लब दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्नेछन्।
चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुले आयोजना गरिरहेको यस प्रतियोगिता मधेश प्रदेशव्यापी फुटबल प्रतियोगिता हो। जसमा मधेस प्रदेशका आठ जिल्लाहरूमध्ये सात जिल्लाका उत्कृष्ट आठ टोलीहरूलाई समावेश गरिएको छ।