News झापा–११ फाइनलमा
गोलनेपाल

पथरी । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा झापा–११ ले UKFC खरसाङलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

पथरी शनिश्चरेस्थित प्रस्तावित पथरी रंगशालामा आज सम्पन्न खेलमा झापा–११ का लागि प्रताप सिंह राईले ह्याट्रिक गरे भने फागुराम थारूले दुई गोल गरे।

खेलको पहिलो हाफ निकै रोमाञ्चक रह्यो। फागुराम थारूले गोल गर्दै झापालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको करिब पाँच मिनेटपछि झापाका खेलाडीबाट भएको आत्मघाती गोलमार्फत UKFC खरसाङले बराबरी गरेको थियो। त्यसपछि प्रताप सिंह राईले गोल गर्दै पहिलो हाफमै झापालाई २–१ को अग्रता दिलाए।

दोस्रो हाफमा खरसाङले सुधारिएको प्रदर्शन गर्दै लगातार आक्रमण गरे पनि गोल गर्न सकेन। झापाले भने खेलमा आफ्नो दबदबा कायम राख्दै थप तीन गोल गर्‍यो। झापाले प्राप्त गरेको पेनाल्टीमा फागुराम थारूले गोल गर्दै टोलीको अग्रता ३–१ बनाए।

त्यसपछि प्रताप सिंह राईले लगातार दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेपछि झापा–११ ले निर्धारित समय ५–१ को जितसहित फाइनल यात्रा तय गर्‍यो।

झापाको जितमा गोलरक्षक योगेश धिमालको प्रदर्शन पनि उल्लेखनीय रह्यो। खरसाङले सिर्जना गरेका केही उत्कृष्ट गोल अवसरमा धिमालले शानदार बचाउ गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए।

ह्याट्रिक गरेका प्रताप सिंह राई प्लेयर अफ द म्याच घोषित भए।

अब प्रतियोगिताको दोस्रो सेमिफाइनलमा न्युरोड टिम (NRT) र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

 

Post Comments