ANFA सप्तरी इलेभेन भेट्रान्स सेमिफाइनलमा प्रवेश
गोलनेपाल

जहदा। अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो जहदा भेट्रान्स क्लब फुटबल प्रतियोगिताको आज सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा सप्तरी इलेभेन भेट्रान्स क्लबले हाम्रो इटहरी भेट्रान्सलाई सडन डेथमा ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टीमा पनि बराबरी भएपछि सडन डेथमा सप्तरी इलेभेनले बाजी मारेको हो।

खेलको पहिलो हाफमा सप्तरी इलेभेनका डिफेन्डर नवीन चौधरीबाट आत्मघाती गोल भएपछि हाम्रो इटहरी भेट्रान्सले सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफमा १–० को अग्रता बनाएको हाम्रो इटहरीले दोस्रो हाफमा त्यसलाई कायम राख्न सकेन।

दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका सप्तरी इलेभेनका जीवेन्द्र चौधरीले उत्कृष्ट लङ रेन्ज प्रहारमार्फत गोल गर्दै टोलीलाई खेलमा फर्काए। उनको प्रहार साइड पोस्टमा लाग्दै जाली चुमेपछि सप्तरी इलेभेनले खेल १–१ को बराबरीमा ल्याएको थियो।

खेलको पहिलो हाफमा आक्रामक देखिएको सप्तरी इलेभेन फिनिसिङमा चुक्दा थप गोल गर्न असफल भएको थियो। यता दोस्रो हाफमा हाम्रो इटहरी भेट्रान्सले पनि गोल गर्ने थुप्रै अवसर सिर्जना गरे पनि वान भर्सेस वानलगायतका राम्रा अवसरलाई सदुपयोग गर्न सकेन। अन्ततः पेनाल्टी सुटआउट र सडन डेथमा पराजित भएपछि हाम्रो इटहरी भेट्रान्स प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतियोगिताको खेल तालिकामा पनि परिवर्तन गरिएको आयोजकले जनाएको छ। यसअघि भोलि चौथो क्वार्टरफाइनल खेल हुने तय भए पनि सिक्किमको टोलीको आगमनमा ढिलाइ हुने भएपछि भोलि पहिलो सेमिफाइनल खेल सञ्चालन गरिने भएको छ। सिक्किमको टोली पर्सि उपस्थित हुने भएकाले तालिका हेरफेर गरिएको आयोजकले जनाएको छ।

Post Comments