ANFA जी ट्वान्टी फाईभ कपः वार्ड नम्बर ४ र ११ फाइनलमा भिड्ने
सुरज राना मगर

बुटवल । रुपन्देहीमा जारी दोस्रो जी ट्वान्टी फाईभ कप बुटवल उपमहानगर वार्डस्तरीय फुटबल प्रतियोगिताको फाइनलमा वार्ड नम्बर ४ र साविक विजेता वार्ड नम्बर ११ भिड्ने भएका छन् ।

बुधबार एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको पहिलो सेमिफाइनलमा वार्ड नम्बर ४ ले वार्ड नम्बर २ लाई सडन डेथमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ वार्ड नम्बर २ का लागि बिष्णु बहादुर थापाले गोल गरेका थिए भने वार्ड नम्बर ४ का लागि हिमाल थापाले गोल फर्काएका थिए । खेलमा वार्ड नम्बर ४ का गोलरक्षक लक्ष्मण गौतम प्लेयर अफ द म्याच बने ।

त्यस्तै बुधबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा वार्ड नम्बर ११ ले वार्ड नम्बर १३ माथि ५–१ को जित निकाल्दै फाइनल यात्रा तय गर्यो । वार्ड नम्बर ११ का लागि देवान गुरुङ, प्रकाश थापा र सोम बहादुर थापा (सुरज) ले एक–एक गोल गर्दा अर्को एक गोल विपक्षी टोली कै देवराज पुनले आत्मघाती गोल गर्न पुगेका थिए । त्यस्तै वार्ड नम्बर १३ का लागि कप्तान भरत थापाले एक मात्र गोल फर्काएका थिए । खेलमा वार्ड नम्बर ११ कै सोम बहादुर थापा (सुरज) प्लेयर अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत अब असोज ३० गते शुक्रबार वार्ड नम्बर ४ र वार्ड नम्बर ११ उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने खेल संयोजक रमेश कुमार जोशीले जानकारी दिए ।

जी ट्वान्टी फाईभ क्लब, बुटवल, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

Post Comments