ANFA फङफङदेन झरना अलैँची कपको उपाधिका लागि फेदाप गा.पा.तेह्रथुम र मरिक एफसी धरान भिड्ने
गोलनेपाल

मिक्वाखोला । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँवा स्थित पर्यटकीय गन्तव्य फङफङदेन झरनामा जारी पर्यटन तथा सांस्कृतिक मेलाअन्तर्गतको अलैँची कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधिका फेदाप गाउॅपालिका तेह्रथुम र मरिक एफसी धरान भिड्ने पक्का भएको छ ।

शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा कुम्मायक कुस्सायक स्पोर्टिङ क्लब पॅाचथरलाई ३-२ गोलले पराजित गर्दै मरिक एफसी धरानले फाइनलमा फेदापसॅगको भेट पक्का गरेको हो ।

मरिक एफसीका लागि मिलन लिम्बुले दुइ र कृष्ण राइले एक गोल गरे । कुम्मायक कुस्सायकका लागि नवराज माझि र निरोज लिङ्देनले एक एक गोल गरे ।

खेलको प्लेयर अफ दि म्याच मरिकका मिलन लिम्बु घोषिस हॅुदै तीन हजार बराबरको अलैची प्राप्त गरे ।

फङफङदेन झरना पर्यटन विकास समितिको आयोजनामा मंसिर २ देखि ६ गतेसम्म सञ्चालन भइरहेको मेलाको मुख्य आकर्षण अलैँची कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता रहेको छ।

प्रतियोगिताको विजेताले ३ लाख २ हजार ८३ रुपैयाँ बराबरको अलैँची प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५२ हजार ८३ रुपैयाँ बराबरको अलैँची पुरस्कार पाउनेछ।

फुटबलसँगै मेलामा स्थानीय कला, संस्कृति, भेषभूषा झल्किने सांस्कृतिक कार्यक्रम तथा राष्ट्रियस्तरका कलाकारहरूको सांगीतिक प्रस्तुति पनि समावेश गरिएको छ।

ताप्लेजुङको प्रमुख नगदेबाली अलैँचीलाई खेलकुद र पर्यटनसँग जोड्दै यसको बजार तथा पहिचान विस्तार गर्नुका साथै प्राकृतिक सौन्दर्यले भरिपूर्ण फङफङदेन झरनालाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ। मेलाले स्थानीय कृषि उत्पादन, पर्यटन, संस्कृति तथा आर्थिक गतिविधिको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Post Comments