दोस्रो ज्योतिपुञ्ज कपबाट तीन लाख बढी बचत
सुरज राना मगर

रामपुर । समाजसेवा जस्तो पवित्र कार्यसँगै ग्रासरुट फुटबल र मोफसलको फुटबलमा छोटो समय मै सफल पहिचान बनाएको पूर्वी पाल्पाली क्लब ज्योतिपुञ्ज युवा क्लब, रामपुर, पाल्पाले आयोजना गरेको दोस्रो ज्योतिपुञ्ज कपको आयव्यय सार्वजनिक गरेको छ ।

रामपुर–७, किसानबारी स्थित खेलमैदान नजिकै रहेको कालीगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टरको सभाहलमा एक कार्यक्रमका बीच दोस्रो ज्योतिपुञ्ज कपको आयव्यय सार्वजनिक गरिएको थियो ।

कुशल बैंकर तथा युवा फुटबल अभियन्ता समेत रहेका आयोजक क्लबका अध्यक्ष सुदिप गौतमले ज्योतिपुञ्ज कपको दोस्रो संस्करणको आयोजनाबाट ३ लाख ६० हजार ८ सय ५५ रुपैयाँ बचत भएको जानकारी दिए । अध्यक्ष गौतमका अनुसार दोस्रो ज्योतिपुञ्ज कपबाट कुल २९ लाख ४ सय ४० रुपैयाँ आम्दानी भएको थियो भने त्यसमध्ये २५ लाख ३९ हजार ५ सय ८५ रुपैयाँ खर्च भएको जानकारी गराए ।

प्रतियोगिता आयोजनाबाट बचत भएको रकम ग्रासरुट फुटबल र विविध सामाजिक कार्य मै खर्च गरिने क्लबले जनाएको छ । स्मरण रहोस, रामपुर नगरपालिका, पाल्पाको संरक्षकत्वमा गत वर्ष कार्तिक ३ देखि १० गतेसम्म रामपुर–७, किसानबारी स्थित आयोजक क्लब कै खेलमैदानमा सम्पन्न दोस्रो ज्योतिपुञ्ज कपको उपाधि युनाइटेड युथ क्लब, नवलपुरले जितेको थियो । फाइनलमा युनाइटेड युथले गन्नी एफसी, पोखरालाई हराउँदै उपाधि जित्न सफल भएको थियो ।

दोस्रो ज्योतिपुञ्ज कपको विजेता युनाइटेड युथले उपाधिसहित नगद ३ लाख ३ हजार ३३३ रुपैयाँ हात पारेको थियो भने उपविजेता गन्नीले १ लाख ७७ हजार ७७७ रुपैयाँ प्राप्त गरेको थियो । विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।

 

 

Post Comments