दोभान । यहाँ जारी दोस्रो दोभान कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा गुड मर्निङ फुटबल क्लब, बुटवल र आयोजक दोभान फुटबल क्लब, पाल्पा भिड्ने भएका छन् ।
सोमबार भएको पहिलो सेमिफाइनलतर्फ गुड मर्निङले चपरहट्टी फुटबल क्लब, चपरहट्टीलाई टाईब्रेकरमा २–१ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा गुड मर्निङका गोलरक्षक अनुप थापा म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै दोस्रो खेलमा आयोजक दोभानले नवजीवन युवा क्लब, तिलोत्तमालाई ३–२ को रोमाञ्चक अन्तरले हरायो । खेलमा दोभानका गोलरक्षक जितेश गुरुङ म्यान अफ दि म्याच घोषित भए । अब कार्तिक १३ गते मंगलबार हुने फाइनलमा गुड मर्निङ एफसी र दोभान एफसी उपाधिका लागि भिड्ने छन् ।
दोभान फुटबल क्लब, दोभान, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुनिल श्रेष्ठले जानकारी दिए ।