Gorkhalis Abroad फ्लोरेन्टलाई राहत बनेको तोङ्बा एफसी युके, नेपालीप्रति सधै आभारी
गोलनेपाल

काठमाडौं । नेपालमा केही बर्ष यता रहेर व्यवसायीक फुटबल खेलेका अफ्रिकी खेलाडी फ्लारेन्ट कोआरालाई अन्ततः घर फर्किने मेसो मिलेको छ । कोरोना भाइरस महामारीका कारण पछिल्ला केही महिनादेखि नेपाल मै अड्किएका कोआरा आफ्नो घर आइभोरी कोस्ट फर्किन चाहन्थे ।

तर आफूसँग घर भाडा तिर्ने खर्च तथा प्लेन टिकट किन्ने पैसा समेत नभएपछि उनी तनावमा परेका थिए । भुटानमा समेत व्यवसायीक फुटबल खेलेका कोआराले गत सिजन नेपालको ए डिभिजन लिग संकटाबाट खेलेका थिए । यद्यपि उनले नेपालमा भएका अन्य घरेलु फुटबल प्रतियोगितामा मनाङबाट पनि सहभागिता जनाएका थिए । साथै अन्य स्थानीय क्लबहरुबाट पनि खेलेका थिए ।

सहारा बनेको तोङ्बा एफसी

नेपालमा कोभिड–१९ का कारण देशव्यापी लकडाउन भएपछि कोआरा समस्यामा थिए । घर फर्किन चाहेर पनि नपाइरहेका उनलाई थप पिडामा पारेको थियो । सहयोगका लागि उनले चिनेजानेका र बुझेका सबैसँग आग्रह पनि गरेका थिए । अन्ततः उनको त्यो अपिललाई सुन्ने काम गर्यो बेलायतमा रहेको नेपाली समुदायहरुको क्लब तोङ्बा एफसीले ।

तोङ्बाले उनलाई घर फर्किनका लागि १५०० अमेरिकी डलर पर्ने प्लेन टिकट किनिदियो । स्मरण रहोस, नेपालमा उनको भिसाा म्याद समाप्त हुँदै थियो र फ्लोरेन्ट यहि डिसेम्बरको १५ तारीखसम्म फर्कि सक्नुपर्ने थियो । यहि कठिन परिस्थतिमा तोङ्बा एफसी फ्लोरेन्टका लागि सहारा बनिदियो ।

निराजन र राईको पनि अहम भूमिका

फ्लोरेन्टलाई उनको देश फर्काउन हाल बेलायतमा रहेका नेपालका अन्तर्राष्ट्रिय खेलाडी निराजन खड्का र एन्फा एकेडेमी कै पूर्व खेलाडी सुरज राईको भुमिका पनि अहम रह्यो । यी दुईले तोङ्बा एफसीसँग मिलेर फ्लोरेन्टलाई स्वदेश फर्काउन पहल शुरु गरेका थिए ।

फ्लोरेन्टको टिकट खर्चको व्यवस्था मिलायन निराजन खड्का र उनको परिवार सहित, सुरज राई, एन्फा एकेडेमी कै पूर्व खेलाडीहरु तथा क्वीन्स गुर्खा इन्जिनियर्स पनि आवश्यक सहयोग गरेका थिए ।

घर भाडा तिर्न नसक्दा प्रकाश बुढाथोकीको साथ

लकडाउनका कारण फुटबल गतिविधी नभएपछि काठमाडौंमा कठिन दैनिकी बिताइरहेका फ्लोरेन्टले आठ महिनादेखिको घरभाडा समेत तिर्न असमर्थ थिए । त्यसका लागि नेपाल मै रहेका अर्का खेलाडी प्रकाश बुढाथोकीले फ्लोरेन्टलाई सहयोग गर्न अभियान नै चलाए र आवश्यक रकम संकलन गरि घर भाडावापतको १ लाख ५० हजार तिर्न सफल भए ।

नेपालीप्रति आभारी छन् फ्लोरेन्ट

स्वदेश फर्किन पाएपछि खुशी र नेपालीहरुप्रति कृतज्ञ छन्् फ्लोरेन्ट । उनले खासगरी निराजन खड्का, प्रकाश बुढाथोकी, तोङ्बा एफसी र सुरज राईलाई विशेष धन्यवाद दिएका छन् ।

फ्लोरेन्टले भने "म निकै खुशी छु । नेपालीहरु निके महान छन् । म पक्कै पनि फेरि नेपाल फर्किनेछु ।" स्मरण रहोस, यो महामारीका कारण फ्लोरेन्ट जस्तै नेपालमा रहेका अन्य अफ्रिकी खेलाडीहरुलाई पनि विभिन्न फुटबल समर्थकहरुले सहयोग गरेका थिए ।

 

Post Comments