ANFA रुपन्देही जिल्ला लिग शुरु, सयपत्रीको विजयी शुरुवात
सुरज राना मगर

बुटवल । रुपन्देहीमा स्थानीय खेलाडीहरुका लागि बहुप्रतिक्षित बनेको जिल्ला फुटबल लिग शनिबारदेखि शुरु भएको छ । बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको उद्घाटन खलमा सयपत्री युवा क्लबले भूपू सैनिक जवई स्र्पोटिङ क्लबलाई १–० ले हरायो ।

सयपत्रीका लागि संजय गुरुङ्गले पेनाल्टीबाट गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच भने सयपत्री कै सोम मगर घोषित भए । यो जितसँगै समूह ए मा रहेको सयपत्रीले महत्वपूर्ण तीन अंक समेत जोडेको छ ।

लिगको पहिलो राउण्डको खेलतर्फ कुल ८ टोलीहरु सहभागि छन् । दुई समूहमा विभाजित आठ टोलीहरु मध्ये प्रत्येक समूहको शिर्ष दुई टोली अन्तिम चरणको सुपर टेन लिगका लागि छनौट हुने छन् । लिगमा पुछारका दुई टोलीहरु रेलिगेशनमा पार्ने लिग संयोजक मुकेश कुँवरले बताए ।

जिल्ला लिग विजेताले उपाधिसहित नगद १ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले ५५ हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले ३० हजार र चौथो स्थान हासिल गर्ने टोलीले २० हजार प्राप्त गर्ने पनि संयोजक कुँवरले जानकारी दिए ।

त्यसअघि लिगको उद्घाटन बुटवल उपमहानगरपालिका वार्ड नम्बर ११ का वाड अध्यक्ष रामचन्द्र पौडेले, जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, उपाध्यक्ष बुद्धि गुरुङ्ग लगायत अन्य पदाधिकारीहरुले संयुक्त रुपमा गरेका थिए ।

Post Comments