निजगढ । दुई घरेलु टोलीहरु निजगढ सिटी क्लब र निजगढ फुटबल क्लब यहाँ जारी चौथो ल्होछार कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ निजगढ सिटीले चिडियादह स्टार क्लबलाई पेनाल्टी शुटआउटमा ६–५ ले पराजित गर्यो । निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । बुद्ध चोक मिनी स्टेडियममा भएको खेलमा निर्धारित समयतर्फ निजगढ सिटीका लागि अभिषेक कुमार श्रेष्ठले गोल गरेका थिए भने चिडियादहका लागि बिबेक बिकले गोल गरेका थिए । पेनाल्टी शुटआउटमा निजगढ सिटी सफल बन्यो । खेलमा निजगढ सिटीका आकाश श्रेष्ठ म्यान अफ दि म्याच बने ।
त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा निजगढ एफसीले योङ स्टार युनाइटेड क्लबलाई १–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्यो । निजगढ एफसीका लागि समिर माझीले एक मात्र निर्णायक गोल गरे । खेलको निर्णायक गोलकर्ता निजगढ एफसीका समिर माझी नै म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत माघ १० गते शनिबारको पहिलो क्वाटरफाइनल रतनपुर युनाइटेड क्लब, निजगढ–११, रतनपुर, बारा र एभरेष्ट एकेडेमी, लालबन्दी, सर्लाही बीच हुने आयोजकले जानकारी दियो ।
योङ स्टार युनाइटेड क्लब, निजगढ–१०, लाल, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,१०,०१० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,००५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १७ गतेका दिन हुनेछ ।