काठमाडौं (एजेन्सी) । भर्खरै शुरु भएको बहुप्रतिक्षित इङलिस प्रिमियर लिगको नयाँ सिजन २०२४–२५ मा इप्सवीच टाउन फुटबल क्लबका २२ वर्षिय फरवार्ड अली इब्राहिम अल–हमादी इङल्याण्डको शिर्ष फुटबल लिग खेल्ने पहिलो इराकी खेलाडी बनेका छन् ।
इराकको मेयसनमा जन्मिएर सन् २०२१ देखि इङल्याण्डको विभिन्न क्लबहरुबाट व्यवसायिक फुटबल खेल्न थालेका अली इब्राहिम यसै सिजन प्रिमियर लिगमा बढुवा भएको नव आगन्तुक टोली इप्सवीचमा यसै वर्ष आवद्ध भएका थिए ।
अली इब्राहिमले शनिबार लिभरपुल विरुद्ध खेलको ७४औं मिनटमा लिआम डेलपको स्थानमा वैकल्पिक खेलाडीका रुपमा मैदानमा उत्रिदै इङलिस प्रिमियर लिग खेल्ने पहिलो इराकी खेलाडी बन्ने सौभाग्य प्राप्त गरेका हुन् । यद्यपि सो खेलमा इप्सवीचले लिभरपुलसँग २–० को हार बेहोर्न पुगेको थियो ।
सन् २०२१ मा फिफा विश्वकप छनोटतर्फ सिरिया विरुद्ध खेल्दै इराकका लागि सिनियर टोलीमा अन्तर्राष्ट्रिय डेब्यु गरेका अली इब्राहिम त्यसयता राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्यका रुपमा रहँदै आएका छन् ।