
काठमाडौं । कृषि विकास बैंक ‘ए’ ले १४औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलमा बुधबार दोहोरो उपाधि जितेको छ । कृषिको पुरुष र महिला दुवै टिम च्याम्पियन बन्यो । दुवैको निर्णय पेनाल्टी सुटआउटबाट निस्केको थियो ।
टोखास्थित ग्रान्डी स्पोर्ट्स सेन्टरमा भएको पुरुषको फाइनलमा कृषिले नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ लाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्यो । निर्धारित समयको १–१ गोलको बराबरीमा टुंगिएको थियो ।
नेपाल वायु सेवा निगमले काठमाडौं खानेपानी लिमिटेडलाई २–० गोलले हराउदै तेश्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार नगद पुरस्कार हात पारे ।
कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको महिलाको उपाधि भिडन्तमा कृषिले नेपाल बैंक लिमिटेडलाई पेनाल्टी सुटआउटमा ५–४ ले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरी सकिएको थियो । विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाए ।