News कुमालको निर्णायक गोलसँगै भरतपुर फाइनलमा
गोलनेपाल

बसन्तपुर । सुरेश कुमालले निर्णायक गोल गरेपछि सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब जारी दोस्रो माडी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा भरतपुरले आयोजक माडी–११ लाई शुन्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा भरतपुरका लागि ७३औं मिनटमा सुरेश कुमालले गरेको गोल नै निर्णायक बन्यो ।

खेलको म्यान अफ द म्याच भरतपुर कै जितेश गुरुङ घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत माघ ८ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल लेखनाथ युनाइटेड क्लब, कास्की र काठमाडौं–११ बीच हुनेछ ।

बसन्तपुर युनाइटेड क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल माघ १० गतेका दिन हुनेछ ।

महिना दिन भित्र लगातार दोस्रो फाइनल खेल्दै भरतपुर

बुधबारको नतिजासँगै भरतपुर एफसीले महिना दिन भित्र लगातार दोस्रो फाइनल खेल्ने पक्का भएको छ । यसअघि भरतपुरले रुपन्देहीमा पुष २५ गतेका दिन सम्पन्न आठौं फर्साटिकर कपको फाइनल पनि खेलेको थियो ।

फाइनलमा भरतपुरले फूलबारी गाईज, बुटवलसँग पेनाल्टी शुटआउटमा पराजित हुँदै उपविजेता बन्न पुगेको थियो । त्यसैले पनि माडी गोल्डकपको फाइनल भरतपुरका लागि अर्को उपाधि नजिक पुग्ने राम्रो अवसर बनेको छ ।

 

Post Comments