News महिला लिगमा बिहीबारः साबित्राको ह्याट्रिकदेखि बिराटनगर र वालिङको बराबरीसम्म
गोलनेपाल

काठमाडौं । राष्ट्रिय महिला लिगको अन्तिमर चरणको खेलतर्फ बिहीबार एन्फा कम्प्लेक्समा दुई खेलहरु सम्पन्न भए । लिग उपाधिको दावेदार एपिफले चन्द्रपुर नगरपालिकालाई ६–० ले हरायो भने दोस्रो खेलमा बिराटनगर महानगरपालिका र वालिङ नगरपालिकाले १–१ को रोमाञ्चक बराबरी खेले ।

साबित्राको ह्याट्रिक

बिहीबार एपिएफको जितमा स्टार फरवार्ड साबित्रा भण्डारीले ह्याट्रिक गरिन् । खेलको १४औं मिनटमै साबित्राले पहिलो गोलको खाता खोलेकी थिईन् । मन्जली योन्जनले २२औं मिनटमा एपिएफको त्यो अग्रता दोब्बर पारिन् । ६२औं मिनटमा भण्डारीले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन् ।

विपक्षी विरुद्ध हावी देखिएको एपिएफका लागि लगतै ६४औं मिनटमा अनिता बस्नेतले चौथो गोल गरिन । त्यस्तै ७२औं मिनटमा साबित्रा भण्डारीले नै टोलीका लागि पाँचों गोल गर्दै आफ्नो ह्याट्रिक समेत पूरा गरिन् । एपिएफको जितमा छैटौं गोल भने प्रिती राईको नाममा रह्यो ।

ह्याट्रिक क्वीन साबित्रा भण्डारी प्लेयर अफ द म्याच समेत घोषित भईन् ।

बिराटनगर र वालिङको बराबरी

एन्फा कम्प्लेक्समै भएको दोसे खेलमा बिराटनगर महानगरपालिका र वालिङ नगरपालिकाले १–१ को बराबरी खेल्दै अंक बाँडे । खेलको शुरुवात मै बनाएको अग्रता जोगाउन नसक्दा वालिङले बराबरीमा चित्त बुझाउन पर्यो ।

खेल शुरु भएको दोस्रो मिनटमै सम्झना शर्माले वालिङलाई खेलमा अग्रता दिलाएका थिईन् । तर दोस्रो हाफतर्फ ६८औं मिनटमा भारतीय खेलाडी आशा कुमारीको फ्रिकिक प्रहारलाई वालिङकी गोलरक्षक साबित्री किशनले सही अनुमान लगाउन नसक्दा बलले पोष्टको जाली चुमेको थियो ।

लिगअन्तरगत माघ ९ गते शुक्रबार एक खेल मात्र हुने एन्फाले जनाएको छ । जसअन्तरगत चौदण्डीगढी नगरपालिकाले विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्ने कार्यक्रम तय भइसकेको छ ।

Post Comments