काठमाडौं । नेपाली खेलकुदमा हाल केही फरक गर्ने उद्देश्यका साथ सक्रिय हिमालयन फुटबल क्लब, नेपाल ‘नाम’ मात्रै होइन, यो संस्था हो, युवाको ऊर्जा, समाजको विश्वास र देशको गौरव । फुटसलको क्षेत्रलाई नयाँ पहिचान दिने उद्देश्यले स्थापना गरिएको यो क्लब पछिल्लो केही वर्षहरूमा नेपाली खेलकुद इतिहासमा सुनौलो अध्याय थप्न सफल भएको छ ।
खेलकुदमा शुद्ध समर्पण, नतिजामा उत्कृष्ट सफलता
विगत ३ वर्षदेखि नेपाली फुटसलमा सक्रिय रूपमा सहभागी हुँदै आएको क्लबले, छोटो समयमा नै ८०% भन्दा बढी राष्ट्रिय तथा स्थानीय फुटसल प्रतियोगिताको उपाधि जितेर ‘विजयको प्रतीक’ बनेको छ । उत्कृष्ट टिम समन्वय, अनुशासित प्रशिक्षण प्रणाली र कुशल व्यवस्थापनले क्लबलाई नेपाली फुटसलको मेरुदण्ड बनाइदिएको छ ।
त्यती मात्र नभई यस क्लबले खेलाडीहरूलाई मात्र खेलाडी होइन, राष्ट्रको प्रतिनिधि र जिम्मेवार नागरिक बनाउने दृष्टिकोणलाई आत्मसात गर्दै अगाडी बढिरहेको छ ।
खेल मात्र होइन, समाजप्रति पनि समर्पित

त्यस बाहेक हिमालयन फुटबल क्लब खेलकुदमार्फत समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित विभिन्न सामाजिक तथा मानवीय कार्यहरूमा अग्रसर रहँदै आएको छ । समाजप्रति उत्तरदायी हुँदै क्लबले विभिन्न सामाजिक कार्यक्रमहरु पनि गर्दै आईरहेको छ ।
क्लबले वि.सं. २०८० मा बाल आश्रममा च्यारिटी कार्यक्रम आयोजना गरेको थियो । जहाँ बेसाहारा बालबालिकासँग खुसी साट्दै सहयोग हस्तान्तरण समेत गरिएको थियो । त्यस्तै सोही वर्ष चाबहिलमा रक्तदान कार्यक्रमको आयोजना गरी जीवन दानको अमूल्य कार्यमा आफूलाई सामेल गरेको थियो ।
त्यस्तै सोल्टिमोडस्थित ‘आमा घर’ मा सहयोग कार्यक्रमको आयोजना गरी त्यहाँ रहेका ज्येष्ठ नागरिकलाई सम्मान, सहयोग र सेवा गरेको थियो । त्यस्तै २०८१ युवा माझ सामाजिक उत्तरदायित्वको सन्देश दिने उद्देश्यका साथ पुनः चाबहिलमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । यसरी क्लबले समाजप्रति आफूहरु निरन्तर उत्तरदायी रहेको सन्देश दिन पनि सफल भएको छ । साथै यी क्रियाकलापहरू क्लबको “खेल र समाज सँगै” भन्ने आदर्शको जीवन्त प्रमाण हुन् ।
अन्तर्राष्ट्रिय उपस्थिति र व्यवस्थापन प्रतिनिधित्व
त्यस्तै क्लबले आफ्नो गतिविधीलाई नेपालमा मात्र सिमित नराखी त्यसलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने प्रयास र पहल समेत गरेका छन् । त्यसै क्रममा क्लबका पदाधिकारीहरूले मलेसियामा आयोजना भएको “हिमालयन गोल्ड कप २०२५” मा व्यवस्थापन सम्हाल्ने उद्देश्यले भ्रमण सम्पन्न गरिसकेका छन् । यसले क्लबलाई अन्तर्राष्ट्रिय फलकमा प्रतिनिधित्व गर्ने संगठनका रूपमा स्थापित गराएको छ ।
त्यहाँ प्रतिष्ठित नेपाली फुटबल खेलाडीहरू, आयोजकहरू र अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्य क्लबको परिपक्व सोच र दीर्घकालीन दृष्टिकोणको प्रमाण हो । यसले क्लबलाई अन्तर्राष्ट्रियस्तर मै थप सक्रिय रुपमा अगाडी बढ्न सहयोग पुगेको क्लबको विश्वास छ ।
सफल आयोजक — उत्कृष्ट फुटसल मञ्चहरूको निर्माता

हिमालयन एफसीले सहभागिता मात्र नभई आयोजकका रुपमा पनि आफ्नो उपस्थितिलाई बलियो रुपमा पेश गर्न तत्पर छ । क्लबले आफ्नै आयोजनामा पनि अनुकरणीय इतिहास बनाएको छ ।
वि.सं. २०८१ मा चाबहिल, काठमाडौंमा आयोजित प्रतियोगितामा रु. ३,५०,००० पुरस्कार राशी राखेर क्लबले नेपालमै उत्कृष्ट व्यवस्थापनको नमूना प्रस्तुत गर्यो । त्यसबेला पनि सम्पूर्ण खेलहरू समयमै, पारदर्शी निर्णय प्रणाली, सभ्य दर्शक सहभागिता र भव्य उद्घाटन तथा समापन समारोहमार्फत प्रतियोगितालाई अझ स्तरवृद्धि गरिएको थियो ।
देशभरि कै प्रतिभाहरुलाई चलायमान बनाउन हिमालयन एफसी त्यति मै रोकिएको छैन । क्लबले आउँदो साउन तेस्रो साता (२२ र २३ गते) दोस्रो हिमालयन फुटसल गोल्डकपको आयोजना समेत गर्दैछ । नेपालमा अहिलेसम्मकै ठूलो, प्रतिष्ठित र भव्य फुटसल प्रतियोगिताका रुपमा आयोजना हुने प्रतियोगिताको पुरस्कार राशी ४ लाख ५० हजार रहेको छ ।
चुच्चेपाटी, चावहिल स्थित भाटभटेनी हेल्थ क्लबमा हुने प्रतियोगितामा देशभरका उत्कृष्ट टोलीहरूलाई एउटै मञ्चमा ल्याई प्रतिस्पर्धा, सद्भाव, र प्रेरणाको अद्भुत संगम बनाउने योजना क्लबले लिएको छ ।
प्रेरणादायी संस्था, उज्यालो भविष्यको प्रतीक
आजको दिनमा हिमालयन फुटबल क्लब केवल एक खेल संस्था होइन — यो यूवाको जोश, समाजको आशा र राष्ट्रको सम्भावना हो । क्लबले देखाएको दृष्टिकोण, समर्पण र सकारात्मक ऊर्जा आजको पुस्ताका लागि एक उदाहरण बनेको छ ।
खेललाई चरित्र निर्माणको औजार बनाउँदै, समाजमा एकता, सहकार्य र परिवर्तनको सन्देश फैलाउँदै आएको छ । छोटो समय मै आफ्नो गर्विलो यात्रा तय गर्न सफल हिमालयन एफसी नेपालले मैदानमा मात्र नभई धेरै खेलप्रेमीहरुको मनमा पनि जित्ने संस्था बनेको छ । क्लबले जित्न मात्र नभई परिवर्तन ल्याउन पनि मैदानमा उत्रन्छ भन्ने सन्देश दिन हरसम्भव प्रयासरत । आउने दिनहरुमा खेलकुदमा खेल्न मात्र नभई धेरैको भविष्य कोर्न पनि आत्तुर छ हिमालयन ।

