News बेलबारीलाई यु–१९ फुटबल प्रतियोगिताको उपाधि
गोलनेपाल

दमक । प्रतिस्पर्धात्मक नतिजामा विजयी हुँदै यहाँ सम्पन्न प्रथम यु–१९ युथ फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लब, मोरङले जितेको छ । फाइनलमा बेलबारीले सिर्जनशील युवा क्लब, धनकुटालाई ३–२ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा भएको खेलमा बेलबारीका लागि प्रशान्त बिकले दुई गोल गरे भने प्रयास मगरले थप एक गोल गरेका थिए । उता सिर्जनशीलका लागि प्रतिक मगर र मिराज मगरले गोल गरे ।

फाइनल खेल केही समय विवादित पनि बन्यो । रेफ्रीको निर्णयप्रति असन्तुष्टी जनाउँदै सिर्जनशीलले खेल्न नमान्दा अन्तिममा बेलबारीलाई विजेता घोषणा गरिएको थियो ।

विधागततर्फ उत्कृष्ट गोलरक्षक अजय परियार बन्दा उत्कृष्ट डिफेन्डर सुगम राई चुनिए । उत्कृष्ट मिडफिल्डर योहन्ना लिम्बु बन्दा उत्कृष्ट फरवार्ड प्रतिक मगर बने ।

विजेता बनेको बेलबारीले उपाधिसहित नगद ४५ हजार हात पार्यो भने उपविजेता सिर्जनशीलले २५ हजारसहित ट्रफी, मेडलमा चित्त बुझायो ।

Post Comments