काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार फरवार्ड साबित्रा भण्डारी फ्रेन्च क्लब गुइनग्याम्पबाट अलग भएकी छिन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत क्लब, समर्थक र शुभेच्छुकहरु सबैलाई धन्यवाद र आभार प्रकट गर्दै क्लबबाट अलग भएको कुरा जानकारी गराएकी हुन् ।
गत सिजन गुइनग्याम्पका लागि फ्रान्सको शिर्ष महिला लिग खेल्दै साबित्राले क्लबका लागि उत्कृष्ट प्रदर्शन गरे तापनि गुइनग्याम्प भने रेलिगेशनमा परेको थियो । यद्यपि साबित्रालाई क्लबले थप आकर्षक अफर गर्दै क्लबमा राख्न चाहेको कुरा समेत चर्चामा थियो । त्यसबाहेक उनलाई फ्रान्स कै अन्य ठूला क्लबहरुले पनि अनुवन्ध गर्न चाहेको कुरा बताइएको थियो ।
यही चर्चाहरुका बीच साबित्राले अष्ट्रेलियाको चर्चित ए लिग खेल्ने वेलिंगटन फोएनिक्स फुटबल क्लबमा आवद्ध भएकी छिन् । वेलिंगटनले पनि आफ्नो सामाजिक सञ्जालमार्फत साबित्रालाई क्लबमा आवद्ध गरेको कुरा जानकारी समेत गराएको छ ।
न्युजिल्याण्डको व्यवसायिक क्लब भए तापनि वेलिंगटन फोएनिक्सले अष्ट्रेलियाको व्यवसायिक शिर्ष महिला लिग खेल्दै आएको छ । “फोएनिक्समा आवद्ध भएर म उत्साहित छु, क्लबका लागि धेरै गोल गर्न चाहन्छु र समर्थकहरुलाई खुशी दिन चाहन्छु ।” साबित्राले वेलिंगटनमा आवद्ध भएपछि भनेकी छिन् ।
वेलिंगटनले सावित्रालाई २०२६–२७ सम्मका लागि आवद्ध गरेको कुरा समेत जानकारी गराएको छ । यसको अर्थ उनले अष्ट्रेलियन लिगमा दुई सिजन बिताउने पक्का छन् । लिगको नयाँ सिजन २०२५–२६ पनि छिटै शुरु हुँदैछ । स्मरण रहोस, वेलिंगटनले गत सिजन कुल १२ टोलीहरु सहभागि लिगको नवौं स्थानमा रहेर सिजनको समापन गरेको थियो ।