News फ्रान्सलाई निराश बनाउँदै जर्मनी सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जर्मनी जारी युइएफए महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्ने चौथो तथा अन्तिम टोली बनेकोछ । जर्मनीले अन्तिम क्वाटरफाइनलतर्फ फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।

त्यसअघि स्वीस शहर बासेलमा सम्पन्न निर्धारित समयको खेल दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । खेलको १५औं मिनटमा ओनिमा गेयोरोको पेनाल्टी गोलबाट फ्रान्सले अग्रता लिए पनि त्यो अग्रता धेरैबेर टिकेन । उता जर्मनीका लागि २५औं मिनटमा जोएके नुस्केनले गोल गर्दै खेललाई बराबरीमा ल्याएकी थिईन् ।

त्यसपश्चातको निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयको खेल १–१ को बराबरीमै टुंगिएपछि पेनाल्टी शुटआउटमा जर्मनीले फ्रान्सलाई ६–५ ले निराश बनाउँदै सेमिफाइनल यात्रा तय गर्न सफल भयो ।

अब २३ जुलाईका दिन हुने दोस्रो सेमिफाइनलमा जर्मनीले अर्को दावेदार टोली स्पेनको सामना गर्नेछ । त्यस्तै २२ जुलाईका दिन हुने पहिलो सेमिफाइनलमा भने साविक विजेता इङल्याण्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् ।

Post Comments