News प्रो लाइसेन्स प्रशिक्षक सोलानोले पाकिस्तानको यु–२३ टोली हेर्ने
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अन्तर्राष्ट्रिय फुटबलमा उल्लेख्य फड्को मार्ने लक्ष्यसहित अगाडी बढिरहेको पाकिस्तानले आफ्नो यु–२३ फुटबल टोलीका लागि युइएफए प्रो लाइसेन्स प्रशिक्षक नियुक्त गरेको छ ।

आउँदो एएफसी यु–२३ एसियन कप छनौट प्रतियोगिता खेल्ने तयारीमा रहेको पाकिस्तानले पेरुका लिजेण्डरी खेलाडी तथा प्रो लाइसेन्स प्रशिक्षक नोलबर्टो सोलानोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

५० वर्षिय सोलानोले गत वर्षसम्म पेरु कै सान मार्कोस क्लबको जिम्मेवारी सम्हालेका थिए । खेलाडीका रुपमा भने उनले इङल्याण्डको चर्चित क्लब न्युक्यासल युनाइटेडबाट करियरको अधिकांश सिजन खेलेका थिए । त्यसबाहेक उनले एस्टन भिल्ला, वेस्ट ह्याम युनाइटेड, लेस्टर सिटी, हुल सिटी जस्ता क्लबहरुबाट समेत खेले । मिडफिल्डरका रुपमा पेरुका लागि ९५ अन्तर्राष्ट्रिय म्याच खेलेका सोलानोले देशका लागि २० गोल समेत गरे ।

यु–२३ टोलीका लागि समेत प्रो लाइसेन्स प्रशिक्षक नियुक्त गरेर फुटबलमा पाकिस्तान अझै गम्भिर रहेको स्पष्ट हुन्छ । स्मरण रहोस, एएफसी यु–२३ एसियन कप छनौटतर्फ समूह जी मा रहेको पाकिस्तानले आयोजक कम्बोडियासहित बलियो इराक र ओमानसँग खेल्ने कार्यक्रम छ ।

त्यसो त, एएफसी यु–२३ एसियन कप छनौटमा नेपालले पनि सहभागिता जनाउँदैछ । समूह के मा रहेको नेपालले भने आयोजक ताजिकिस्तानसँगै सिरिया र फिलिपिन्ससँग खेल्नेछ । नेपालको मुख्य प्रशिक्षकमा नबिन न्यौपाने छन् । न्यौपाने प्रो लाइसेन्स प्रशिक्षक भने होईनन् ।

एएफसीको नियम अनुसार यु–२३ टोलीमा एएफसी प्रो लाइसेन्स प्रशिक्षक हुनुपर्ने प्रावधान छ । अहिलेसम्म दक्षिण एसियातर्फ पाकिस्तान बाहेक बंगलादेश र भारतसँग मात्र प्रो लाइसेन्स प्रशिक्षक रहेको छ ।

Post Comments