News भारत रोकियो, बंगलादेशको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं । बुधबारदेखि शुरु भएको एएफसी यु–२० महिला एसियन कप छनौट प्रतियोगिता अन्तर्गत दक्षिण एसियाका अन्य दुई टोलीहरु मध्ये भारतले बराबरी खेल्दा साफ यु–२० महिला च्याम्पियन बंगलादेशले विजयी शुरुवात गरेको छ ।

म्यानमारमा जारी समूह डी तर्फको आफ्नो खेलमा भारतले इण्डोनेसियासँग गोलरहित बराबरी खेलेको हो । सोही समूहको अर्को खेलमा आयोजक म्यानमारले तुर्कमेनिस्तानलाई ६–१ को अन्तरले हरायो ।

भारतले आगामी खेल ८ अगस्त शुक्रबारका दिन तुर्कमेनिस्तानसँग खेल्नेछ भने सोही दिन अर्को खेलमा म्यानमारले इण्डोनेसियाको सामना गर्नेछ ।

त्यस्तै समूह एचमा रहेको बंगलादेशले बुधबार आफ्नो पहिलो खेलमा आयोजक लाओसलाई ३–१ ले हराउँदै विजयी शुरुवात गर्यो । सोही समूहको अर्को खेलमा बलियो दक्षिण कोरियाले टिमोर लिस्टेमाथि ९–० को जित निकाल्यो ।

त्यस्तै समूह चरणको आफ्नो दोस्रो खेलमा ८ अगस्त शुक्रबारका दिन बंगलादेशले टिमोर लिस्टेको सामना गर्नेछ । सोही दिन लाओसले भने दक्षिण कोरियासँग खेल्नेछ ।

स्मरण रहोस, छनौट प्रतियोगितामा सहभागि ३२ टोलीहरुलाई आठ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष टोली र उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने तीन टोलीहरु गरी कुल ११ टोली अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यु–२० महिला एसियन कपका लागि छनौट हुनेछन् ।

 

 

Post Comments