काठमाडौं । ज्ञान निकेतन, स्वर्णिम, बेसिक लर्निङ, ब्राइट होराइजन र रिब्सले तेश्रो न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताको उपाधि जितेका छन् ।
ब्वाइज फुटसलको यु–११ मा बेसिक लर्निङ, यु–१३ मा ब्राइट होराइजन र यु–१६ मा रिब्स पहिलो भए । बास्केटबलको ब्वाइजमा ज्ञान निकेतन र गल्र्समा स्वर्णिम च्याम्पियन बने ।
फुटसलको यु–११ फाइनलमा बेसिकले चेल्सी वल्र्ड स्कुललाई टाइब्रेकरमा ५–४ ले पाखा लगायो । यु–११ को फाइनलमा ब्राइट होराइजनले हार्टल्यान्ड एकेडेमीलाई ७–० ले पन्छायो । यु–१६ को फाइनलमा रिब्सले ग्रिन भिलेजमाथि १–० को कठिन जित दर्ता गर्यो ।
यु–११ मा एआईका सोयाङ लामा, यु–१३ मा विद्यावाणीका आरभ कलौनी र यु–१६ मा रिब्सका श्रमन गुरुङ उत्कृष्ट खेलाडी चुनिए । यु–११ मा चेल्सीका समृद्ध कडेल, यु–१३ मा ब्राइट होराइजनका महेन्द्र सन्ज्याल र यु–१६ मा रिब्सका आयुश केसी उत्कृष्ट गोलरक्षक ठहरिए ।
यु–११ मा बेसिक लर्निङका सरोज तामाङ (१० गोल), यु–१३ मा रेडियन्टका सुलभ गुरुङ (११ गोल) र यु–१६ मा रिब्सका ब्लेस गुरुङ (६ गोल) सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।
बास्केटबलको ब्वाइजमा एभीएम र गल्र्समा केसीसीएस अनुशासित टिम चुनिए । फुटसलको यु–११ मा मनास्लु, यु–१३ मा जेसिस र यु–१६ मा समृद्धिले अनुशासित टिमको ट्रफी हात पारे ।
भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा भएको बास्केटबलको ब्वाइज फाइनलमा ज्ञान निकेतनले कन्स्टिलेसनलाई ६५–४३ ले पराजित गर्यो । ज्ञान निकेतनको जितमा महेन्द्र प्याकुरेलले ३३ अंक योगदान गरे । गल्र्सको उपाधि भिडन्तमा हिसी ल्हामु लामाको ८ अंक सहयोगमा स्वर्णिमले रिब्सलाई २४–२२ को झीनोअन्तरले हरायो ।
ब्वाइजमा महेन्द्र र गल्र्समा हिसी आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा कन्स्टिलेसनका सुनिदन तामाङ र गल्र्समा रिब्सकी लिस्का थापा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
विजेतालाई अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष गणेश थापा, काठमाडौं महानगरपालिका वडा १८ का अध्यक्ष नुच्छुकाजी महर्जन, न्यु जेनिथका संस्थापक प्रिन्सिपल राजु महर्जन, न्यु जेनिथका एडमिन हेड पुष्पलाल श्रेष्ठ, प्रतियोगिता संयोजक रोशन थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
आठदिने प्रतियोगिताअन्तर्गत बास्केटबलको ब्वाइजमा २४ र गल्र्समा १२ टिम सहभागी थिए । फुटसलको यु–११ मा १३, यु–१३ मा १५ र यु–१६ मा १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।