सुनवल । राइजिङ स्टार सामुदायिक विकास प्रतिष्ठान, सुनवल–१२, भुमही, नवलपरासीको आयोजनामा प्रथम स्व. बिमल, बिनोद स्मृति कप नाईन ए साईड खुला फुटबल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा जनशक्ति युवा क्लब, बडेराले उत्कृष्ट विजयी शुरुवात समेत गर्यो । भुमही खेलमैदानमा भएको उद्घाटन खेलमा जनशक्तिले लुम्बिनी फुटबल क्लब, सुनवललाई ४–० ले हराउँदै विजयी शुरुवात गरेको हो ।
जनशक्तिको जितमा रोशन थापाले ह्याट्रिक गरे भने थप एक गोल आशिष थापाले गरे । उदुघाटन खेलमै ह्याट्रिक गरेका जनशक्तिका रोशन थापा खेलको म्यान अफ दि म्याच समेत घोषित भए । यो जितसँगै जनशक्ति क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी सुनवल नगरपालिकाका निवर्तमान नगर प्रमुख भिम बहादुर थापाले गरेका थिए । सो अवसरमा नवलपरासी जिल्ला फुटबल संघका उपाध्यक्ष मिलन गुरुङ, रामग्राम नगरपालिका वार्ड नम्बर ११ का वार्ड अध्यक्ष धनिराम यादव, आयोजक राइजिङ स्टार सामुदायिक विकास प्रतिष्ठानका रमेश कुमार राना, सन्दिप केसी, जगतलाल चौधरी, नवलपरासी जिल्ला फुटबल संघका कोषाध्यक्ष जितेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।
आउँदो भदौ २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५०,०५१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,०५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक जितेन चौधरीले जानकारी दिए ।