News एन्फा यु–१४ छात्र–छात्रा फुटबल प्रतियोगितामा ६ खेलहरु सम्पन्न
गोलनेपाल

धरान । सुनसरी जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एनफा) को प्राविधिक सहयोगमा जारी एन्फा यु–१४ छात्र–छात्रा फुटबल प्रतियोगितामा मंगलबार पनि ६ खेलहरु सम्पन्न भएका छन् ।

एन्फा एकेडेमी, धरानको खेलमैदानमा भएको छात्रातर्फ पहिलो खेलमा ज्वालामुखी माविले नेपाल पुलिस स्कुललाई १–० ले हरायो । ज्वालामुखीको जितमा सिमरन तामाङले गोल गरे । खेलको प्लेयर अफ दि म्याच भने ज्वालामुखी कै आयुषा कुलुङ राई बनिन् ।

सोही मैदानमा भएको दोस्रो खेलमा शारदा बालिका नमाबिले लर्ड बुद्ध एकेडेमीलाई ६–० को फराकिलो अन्तरले हरायो । शारदाका लागि सिमा राईले ह्याट्रिक गर्दा खुशी लिम्बुले दुई तथा इभान लिम्बुले एक गोल थपिन । खेलमा शारदाकी सिमा राई प्लेयर अफ दि म्याच चुनिईन् ।

त्यस्तै तालतलैया स्थित बुढासुब्बा खेलमैदानमा भएको छात्रतर्फको पहिलो खेलमा लर्ड बुद्ध एकेडेमीले डिपो सेकेन्डरी स्कुललाई ४–३ ले पराजित गर्यो । लर्ड बुद्धका लागि प्रिन्स राना मगरले दुई गोल गर्दा आर्य चौधरी र सिद्धार्थ चौधरीले एक–एक गोल गरे । उता डिपोका लागि सारेन राईले दुई गोल गर्दा आयुष जिमीले एक गोल गरेका थिए । खेलमा लर्ड बुद्धका प्रिन्स राना मगर प्लेयर अफ दि म्याच बने ।

सोही मैदानमा सम्पन्न दोस्रो खेलमा हिम शिखर स्कुलले शिक्षा सन्देश सेकेन्डरीलाई टाईब्रेकरमा २–१ ले पराजित गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा हिम शिखरका गोलरक्षक सिम सोन श्रेष्ठ प्लेयर अफ दि म्याच बने ।

त्यसैगरी बराहक्षेत्र खेलमैदानमा भएको छात्रतर्फको पहिलो खेलमा भरौल बाल मन्दिरले धरान स्कलर (ए) लाई ६–० को फराकिलो अन्तरले हरायो । भरौलका लागि प्रितम श्रेष्ठ र रोजश लिम्बुले दुई–दुई गोल गरे भने सुदिप कार्की र प्रज्ज्वल कार्कीले एक–एक गोल गरे । खेलमा भरौल बाल मन्दिरका राजेश लिम्बु प्लेयर अफ दि म्याच चुनिए ।

अर्को खेलमा धरान लिगामेन्टले लिबर्टी स्कुललाई ६–० कै अन्तरले हरायो । धरान लिगामेन्टका लागि अजित कार्की एक्लैले ह्याट्रिकसहित चार गोल गर्दा प्रज्ज्वल गुरुङ र नितेश याक्खाको नाममा एक–एक गोल रह्यो । खेलमा लिगामेन्टका लागि चार गोल गरेका अजित कार्की प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत भदौ १८ गते बुधबार पनि तीन फरक खेलमैदानहरुमा कुल ६ खेलहरु हुने आयोजकले जानकारी दियो ।

Post Comments