भुमही । राइजिङ स्टार सामुदायिक विकास प्रतिष्ठान, सुनवल–१२, भुमही, नवलपरासीको आयोजनामा सम्पन्न स्व. बिमल, बिनोद स्मृति कप खुला नाइन ए साईड फुटबल प्रतियोगिताको उपाधि जनशक्ति युवा क्लब, बडेराले जितेको छ ।
बिहीबार सम्पन्न फाइनलमा जनशक्तिले भुमह रिकन्डिसन, सुनवल–१२, भुमहीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि उचाल्न सफल भएको हो । भुमही खेलमैदानमा भएको फाइनलमा जनशक्तिका लागि बिबेक थारुले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो ।
विजेता बनेको जनशक्तिले उपाधिसहित नगद ५०,०५१ रुपैयाँ हात पार्दा उपविजेता भुमही रिकन्डिसनले २५,०५१ सहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो । फाइनल खेलका निर्णायक गोलकर्ता बिबेक थारु म्यान अफ दि म्याच चुनिए ।
अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक अन्नपुर्ण इङलिस बोर्डिङ स्कुलका बिबेक सुनार बने । उदीयमान खेलाडी राइजिङ स्टार फुटबल क्लबका होम बहादुर थापा बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार भुमही रिकन्डिसनका सुरज थारुले हात पारे । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी उदय युवा क्लबका मनिष थारु घोषित भए ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी पूर्व पर्यटन, उद्योग तथा सहकारी मन्त्री खडक बस्नेत, राइजिङ स्टार सामुदायिक विकास प्रतिष्ठान, सुनवल–१२, भुमही, नवलपरासीका अध्यक्ष तथा वरिष्ठ फुटबल अभियन्ता प्रकाश पंगेनी, सुनवल नगरपालिकाका उपप्रमुख सुर्य दुवे, खेल संयोजक जितेन्द्र चौधरी, प्रचार प्रसार संयोजक सन्दिप केसी लगायतले पुरस्कृत गरेका थिए ।