News कपिलवस्तुमा फुटबललाई व्यस्त बनाउने योजना
सुरज राना मगर

कपिलवस्तु । पछिल्लो समय केही सुस्ताएको फुटबललाई फेरि गतिशील बनाउने कपिलवस्तु जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले बताएका छन् ।

बुधबार वाणगंगा नगरपालिका, कपिलवस्तुको सभाहलमा आयोजित पत्रकार सम्मलेनमा अध्यक्ष थापाले सो कुराको चर्चा गरेका हुन् । उनले जिल्ला भित्र फुटबल गतिविधी सामान्य रुपमा भई राखे तापनि अब ती गतिविधीहरुलाई थप गतिशील बनाएर कपिलवस्तु जिल्ला भित्र फुटबलको माहोललाई सक्रिय बनाउने बताए ।

पत्रकार सम्मेलन मै अध्यक्ष थापाले जिल्लाबाट अखिल नेपाल फुटबल संघ (एन्फा) ले सूचना जारी गरे बमोजिम माघ मसान्तसम्म यु–१३ खेलाडीहरु छनौट गरि प्रदेश छनौटमा पठाउने बताए । साथै उनले कपिलवस्तु जिल्ला फुटबल संघलाई एन्फामा दर्ता गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको समेत बताए । अध्यक्ष थापाले यहि महिना भित्र जिल्ला फुटबल संघ एन्फामा अधिकारिक रुपमै आवद्ध हुने बताए ।

फुटबलमा सक्रियता बढाउने

कपिलवस्तु जिल्ला फुटबल संघका महासचिव ईश्वर थापाले जिल्ला भित्रका फुटबल गतिविधीलाई अब सक्रिय बनाउने बताए । स्थानीय खेलाडीहरुलाई फुटबलसँगै रोजगारीको अवसर पनि सिर्जना गर्ने आफूहरुको योजना रहेको समेत खुलाए ।

फुटबललाई फेरि सक्रियता प्रदान गर्नका लागि फुटबल संघले बुधबारदेखि दश दिने फुटबल प्रशिक्षण कार्यक्रम समेत शुरु गरेको छ । प्रशिक्षणमा सहभागी खेलाडीहरुलाई एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक राजेन्द्र तामाङले प्रशिक्षण दिईरहेका छन् । स्मरण रहोस, तामाङले यसअघि एपिएफ क्लब, पोखराको सहारा क्लब लगायतका चर्चित क्लबहरुलाई पनि प्रशिक्षण दिईसकेका छन् ।

प्रशिक्षणमा जिल्ला भित्रका २२ खेलाडीहरु समावेश रहेको अध्यक्ष थापाले बताए । साथै प्रशिक्षणबाट राम्रा खेलाडीहरु छनौट गरि जिल्ला भित्र र आसपासका जिल्लाहरुमा भईरहेको फुटबल प्रतियोगिताहरुमा कपिलवस्तुको टिम बनाएर सहभागिता जनाउने पनि अध्यक्ष थापाले स्पष्ट पारे ।

स्थानीय खेलाडी उत्पादनमा जोड

कपिलवस्तुको फुटबलमा युवा अभियन्ताको परिचय बनाएका कपिलवस्तु जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले जिल्ला भित्र स्थानीय खेलाडीहरुको उत्पादन गर्ने उद्देश्य पनि आफूहरुको रहेको बताए । त्यसका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरेर अघि बढ्ने पनि योजना रहेको उनले खुलाए ।

तत्कालका लागि जिल्ला भित्र फुटबललाई चलायमान राख्ने बताउँदै अध्यक्ष थापाले खेलाडी उत्पादनका लागि जति सक्दो छिटो योजना बनाएर काम शुर गर्ने पनि बताए ।

अध्यक्ष थापाले कुराकानी कै क्रममा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना गर्ने पनि बताए । प्रतियोगिता आयोजनाका लागि गृहकार्य गरेर सम्बन्धित सबैसँग समन्वय गर्दै प्रतियोगिता आयोजनाको तयारी गर्ने बताए ।

उनी भन्छन्, "जिल्ला भित्र फुटबल सुस्ताउन नदिने हाम्रो योजना छ । फुटबलमा खेलाडी उत्पादनदेखि लिएर प्रतियोगिता आयोजना र सहभागितालाई पनि हामी अब निरन्तरतरता दिनेछौं । त्यसका लागि हामी सबैसँग सहकार्य गरेर पहल गर्छौ र अघि बढ्छौं ।"

अध्यक्ष थापा कै अध्यक्षतामा सम्पन्न भएको पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन कपिलवस्तु जिल्ला फुटबल संघका महासचिव इश्वर थापाले गरेका थिए । सो अवसरमा अन्य अतिथीहरुसहित स्थानीय र राष्ट्रियस्तरका सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।

 

 

Post Comments