काठमाडौं (एजेन्सी) । एएफसी एसियन कप छनौटतर्फ दक्षिण एसियाली राष्ट्रहरुले फितलो प्रदर्शन गर्ने क्रममा दक्षिण एसियाको बलियो टोली मानिएको भारत पनि समूह चरणबाटै बाहिरिएको छ ।
बंगलादेशसँगै एउटै समूह सी मा रहेको भारतले मंगलबार जित्नैपर्ने खेलमा सिंगापुरसँग १–२ को हार बेहोर्न पुग्यो । यो हारले भने भारतलाई समूह चरणबाटै बाहिर बनायो ।
स्मरण रहोस, समूह सी कै अर्को खेलमा बंगलादेशले हङकङसँग १–१ को बराबरी खेल्नुका बावजुद समूह चरणबाट बाहिरिन बाध्य बन्यो ।
समूह सी मा ४ खेलबाट समान ८–८ अंक जोडेका हङकङ र सिंगापुर क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । २–२ अंक जोडेका बंगलादेश र भारत भने तेस्रो र चौथो स्थानमा रहँदा दुई खेल खेल्न बाँकी छँदै समूह चरणबाट बाहिरिएका हुन् ।
श्रीलंकाको सम्भावना कायमै
त्यस्तै समूह डी मा रहेको अर्को दक्षिण एसियाली राष्ट्र श्रीलंकाले पनि मंगलबार तुर्कमेनिस्तानसँग २–१ को हार बेहोर्यो । मंगलबार नै थाइल्याण्डले भने चाइनिज ताइपेईमाथि ६–१ को एकतर्फी जित हात पार्यो ।
४ खेलको समाप्ती पश्चात् समान ९–९ अंक जोडेका तुर्कमेनिस्तान र थाइल्याण्ड क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । ६ अंक जोडेको श्रीलंका तेस्रो स्थानमा छ । चाइनिज ताइपेई भने अंकविहीन रुपमा पुछारमा छ र समूह चरणबाटै बाहिरिएको छ ।
पाकिस्तानको चुनौति पनि समाप्त
त्यस्तै समूह ई मा रहेको अर्को दक्षिण एसियाली राष्ट्रक पाकिस्तानको चुनौति पनि समूह चरणबाटै समाप्त भएको छ । समूह ई तर्फ पाकिस्तानले अफगानिस्तानसँग १–१ को बराबरी खेल्यो । सोही समुहको अर्को खेलमा सिरियाले म्यानमारमाथि ३–० को जित निकाल्दै एसियन कपमा स्थान पक्का गर्यो ।
समूह ई मा ४ खेलबाट १२ अंक जोडेको सिरिया शिर्ष स्थानमा छ । ६ अंकका साथ म्यानमार दोस्रो स्थानमा रहँदा २–२ अंक जोडेका अफगानिस्तान र पाकिस्तान क्रमशः तेस्रो र चौथो स्थानमा छन । समूह ई बाट म्यानमार र अफगानिस्तान पनि बाहिरिउका छन् ।