राजाबास । एकतर्फी जित निकाल्दै भानु भेट्रान्स, धरान सुनसरी यहाँ जारी प्रथम राजाबास भेट्रान कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको दोस्रो क्वाटरफाइनलतर्फ भानु भेट्रान्सले बिराटचोक भेट्रान्स, मोरङमाथि ८–१ को जित निकाल्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।
भानु भेट्रान्सका लागि बुद्ध चेम्जोङ, खेगेन्द्र खड्का र निर्मल तामाङले समान दुई–दुई गोल गरे भने थप दुई गोल सतिष केसी र प्रबिन राईको नाममा रह्यो । उता पराजित बिराटचोकका लागि कोमल खवासले एक मात्र गोल फर्काए ।
खेलमा भानु भेट्रान्सका बुद्ध चेम्जोङ म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत कार्तिक १० गतेको तेस्रो क्वाटरफाइनल खेल सतिसाले भेट्रान्स, मोरङ र रामधुनी भेट्रान्स, झुम्का बीच हुने आयोजकले जानकारी दियो ।
राजाबास भेट्रान फुटबल क्लब, बराहक्षेत्र–९ राजाबास, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक १५ गतेका दिन हुनेछ ।
