आठराई । तेह्रथुम जिल्लाको आठराई गाउपालिका वडा न.- ५ छातेढुङ्गामा भगवति ट्रफि तथा पदम थापा स्मृति रनिङ कप खुल्ला पुरुष फुटबल प्रतियोगिता , महेन्द्र कन्दङवा स्मृति रनिङ कप महिला फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दुई पुरुष फुटबल खेल सम्पन्न भएका छन।
सोमबार पहिलो खेल डिफेन्डिङ च्याम्पियन लुङ्छाता छातेढुङ्गा र खेलकुद बिकास समिति चुहानडाँडा बिच हुने पक्का भएतापनि खेलकुद बिकास समिति चुहानडाँडा तोकिएको समयमा मैदानमा उपस्थित नहुदा वाकओभरको आधारमा लुङ्छाता छातेढुङ्गा क्वाटरफाइनलमा प्रवेश गरेको छ।
दोस्रो खेल खेलकुद विकास समिति ईवा र होडा नागेश्वरी छातेढुङ्गाबिच रोमान्चक प्रतिस्पर्धा हुँदा निकै राम्रो सुरुवात गरेको ईवाले सुरुवाती समय चार मिनेटमै निसाम कन्दङ्वाको गोलमा अग्रता बनाएको थियो। उक्त गोलभएको दुई मिनेट नबित्दै लक्सम राजले हेडर मार्फत गोल गर्दै अग्रतालाई दोब्बर गरे।
उता होडाको लागि पहिलो हाफको २०औं मिनेटमा सुरेन्द्र राईले उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई राहत दिलाएका थिए। त्यसपश्चात् पहिलो हाफको बाँकी समय दुवै टोलीले गोल गर्न नसक्दा पहिलो हाफमा ईवाले अग्रता लिन सफल भएको थियो।
निकै राम्रो सुरुवात गरेको होडाले दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेता पनि कुनै गोल गर्न सकेन। खेलको अतिरिक्त समयमा फेरि ईवाको लागि शुसिल गुरुङले गोल थप्दै जित सुनिस्चित गराएका हुन।
मंगलबार पहिलो चरणका पाँच खेल हुने निश्चित भएको छ।
खुल्ला पुरुष फुटबल तर्फको बिजेताले नगद रु. एक लाख पचहत्तर हजार सहित तिन बर्षे रनिङ कप साथै उपबिजेताले नगद रु.एक लाख पच्चिस हजार सहित तिन बर्षे रनिङ कप प्राप्त गर्नेछन भने खुल्ला महिला फुटबल तर्फ बिजेताले नगद रु. ८० हजार सहित ट्रफी मेडल र उपविजेताले नगद रु. ५० हजार प्राप्त गर्नेछन् ।उक्त प्रतियोगिताको समापन भने कार्तिक पन्ध्र गते हुनेछ।