काठमाडौं । राष्ट्रिय महिला लिगको लिगतालिकामा विभागीय टोली नेपाल पुलिस क्लब दोस्रो स्थानमा उक्लिएको छ । आइतबार सम्पन्न एक मात्र खेलमा चन्द्रपुर नगरपालिका, रौतहटलाई ३–१ ले हराउँदै पुलिसले लिगतालिकामा छलाङ लगाएको हो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलको २७औं मिनटमा निर्मला बिकको गोलबाट पुलिसले खेलमा अग्रता लिएको थियो । यद्यपि लिगमा राम्रो लयमा रहेकी चन्द्रपुरकी सबिता राना मगरले ३९औं मिनटमा बराबरी गोल फर्काउन सफल भईन् ।
तर दोस्रो हाफमा भने पुलिसले खेल आफ्नो पकडमा ल्यायो । ५०औं मिनटमा अनु थापाले पुलिसका लागि दोस्रो गोल गरिन् भने अन्तिमतिर इन्जुरी समयमा अनुश्का शेर्पाले तेस्रो गोल गर्दै विभागीय टोलीको जित सुनिश्चित गरिन् ।
यो जितसँगै पाँच खेलबाट ८ अंक जोडेको पुलिसले अर्को विभागीय टोली आर्मीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । आर्मीको पाँच खेलबाट ७ अंक छ । उता अपराजित एपिएफ १५ अंकका साथ शिर्ष स्थानमा यथावत छ । त्यस्तै आइतबार पुलिससँग पराजित भएको चन्द्रपुर भने ३ अंकका साथ छैटौं स्थानमा यथावत छ ।
सोमबार दुई खेलहरु हुँदै
लिगअन्तरगत माघ १९ गते सोमबार दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा बिराटनगर महानगरपालिका, मोरङ र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दै छन् भने दोस्रो खेलमा लिगलिडर नेपाल एपिएफ क्लब र चौदण्डीगढी नगरपालिका, उदयपुर आमने सामने हुनेछन् ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान