News दोस्रो स्थानमा उक्लियो पुलिस
गोलनेपाल

काठमाडौं । राष्ट्रिय महिला लिगको लिगतालिकामा विभागीय टोली नेपाल पुलिस क्लब दोस्रो स्थानमा उक्लिएको छ । आइतबार सम्पन्न एक मात्र खेलमा चन्द्रपुर नगरपालिका, रौतहटलाई ३–१ ले हराउँदै पुलिसले लिगतालिकामा छलाङ लगाएको हो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलको २७औं मिनटमा निर्मला बिकको गोलबाट पुलिसले खेलमा अग्रता लिएको थियो । यद्यपि लिगमा राम्रो लयमा रहेकी चन्द्रपुरकी सबिता राना मगरले ३९औं मिनटमा बराबरी गोल फर्काउन सफल भईन् ।

तर दोस्रो हाफमा भने पुलिसले खेल आफ्नो पकडमा ल्यायो । ५०औं मिनटमा अनु थापाले पुलिसका लागि दोस्रो गोल गरिन् भने अन्तिमतिर इन्जुरी समयमा अनुश्का शेर्पाले तेस्रो गोल गर्दै विभागीय टोलीको जित सुनिश्चित गरिन् ।

यो जितसँगै पाँच खेलबाट ८ अंक जोडेको पुलिसले अर्को विभागीय टोली आर्मीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । आर्मीको पाँच खेलबाट ७ अंक छ । उता अपराजित एपिएफ १५ अंकका साथ शिर्ष स्थानमा यथावत छ । त्यस्तै आइतबार पुलिससँग पराजित भएको चन्द्रपुर भने ३ अंकका साथ छैटौं स्थानमा यथावत छ ।

सोमबार दुई खेलहरु हुँदै

लिगअन्तरगत माघ १९ गते सोमबार दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा बिराटनगर महानगरपालिका, मोरङ र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दै छन् भने दोस्रो खेलमा लिगलिडर नेपाल एपिएफ क्लब र चौदण्डीगढी नगरपालिका, उदयपुर आमने सामने हुनेछन् ।

Post Comments