राजाबास । सहज जित हात पार्दै आयोजक राजाबास भेट्रान्स क्लब यहाँ जारी प्रथम राजाबास भेट्रान कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा राजाबास भेट्रान्सले ग्रामथान भेट्रान्स क्लब, मोरङलाई ६–१ को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।
राजाबासको जितमा बिमल कार्कीले ह्याट्रिक गरे भने रोनी बिष्टले दुई गोल गरे । त्यस्तै थप एक गोल नबिन चौधरीको नाममा रह्यो । उता पराजित ग्रामथानका लागि भने अमिर भगतले एक मात्र गोल फर्काएका थिए । खेलमा राजाबासका ह्याट्रिककर्ता बिमल कार्की म्यान अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत कार्तिक १२ गते बुधबारको पहिलो सेमिफाइनल खेल दुहबी भेट्रान्स, सुनसरी र सतिसाले भेट्रान्स, मोरङबीच हुने आयोजकले जानकारी दियो ।
राजाबास भेट्रान फुटबल क्लब, बराहक्षेत्र–९ राजाबास, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक १५ गतेका दिन हुनेछ ।