News बिरगंजलाई बनदेवी माई अध्यक्ष गोल्डकपको उपाधि
गोलनेपाल

बटेश्वर । बनदेवी माई युवा क्लब, बटेश्वर गाउँपालिका–२, सीतापुर, धनुषाको आयोजनामा सम्पन्न १३औं बनदेवी माई अध्यक्ष गोल्डकपको उपाधि बिरगंज युनाइटेड क्लब, पर्साले जितेको छ ।

मंगलबार सम्पन्न फाइनलमा बिरगंजले जनसेवी युवा क्लब, बर्दिबासलाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै उपाधि जित्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ जनसेवीका लागि कुलदिप कार्कीले गोल गरेका थिए भने बिरगंजका लागि अन्जन बछरले गोल गरेका थिए । पेनाल्टी शुटआउटमा भने बिरगंजले नतिजा आफ्नो पक्षमा पार्यो ।

विजेता बनेको बिरगंजले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्यो भने उपविजेता जनसेवीले ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । बिरगंजका अन्जन बछर फाइनल खेलको म्यान अफ दि म्याच बने ।

अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक बिरगंजका दिलमणि चौधरी बन्दा उत्कृष्ट डिफेन्डर जनसेवीका कुलदिप कार्की बने । त्यस्तै उत्कृष्ट मिडफिल्डर र सर्वाधिक गोलकर्ताको पुरस्कार अभिषेक चौधरीले हात पार्दा उत्कृष्ट प्रशिक्षक बिरगंज कै मुन्ना चौधरी घोषित भए ।

Post Comments