News एन्फा प्रेसिडेन्ट लिग : उपाधि भिडन्त मंगलबार, लालीगुराँस र चित्लाङ उपाधी कब्जा गर्ने दाउमा
बिक्रम बानियाँ क्षेत्री

हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हेटौँडामा जारी एन्फा प्रेसिडेन्ट लिग–०२५ को फाइनल भिडन्त भोलि मंगलबार हेटौंडाको गौरीटार रंगशालामा हुने भएको छ। उपाधिका लागि कास्कीको लालीगुराँस एसोसिएसन क्लब र काठमाडौंको चित्लाङ एफसी आमनेसामने हुँदैछन् ।

फाइनलअघिको प्रि–म्याच कन्फ्रेन्स सोमबार ऐतिहासिक मकवानपुरगढी परिसरमा सम्पन्न भयो। कार्यक्रममा दुवै टिमका प्रशिक्षक तथा कप्तानहरूले उपाधि जित्ने लक्ष्य दोहोर्याउँदै फाइनलमा कडा प्रतिस्पर्धा हुने अपेक्षा व्यक्त गरे।

लालीगुराँस : अपराजित अभियान, उपाधि नजरमा

लालीगुराँसका प्रशिक्षक किरण श्रेष्ठले लिग चरणमा चित्लाङविरुद्ध ३–० को जित हासिल गरेको स्मरण गर्दै आफ्नो टिमले रणनीतिक रूपमा फाइनलका लागि तयारी गरेको बताए। “चित्लाङको रणनीति बुझिसकेका छौँ। टिमको मेन्टालिटी सकारात्मक छ। अपराजित रहँदै उपाधि जित्ने लक्ष्य छ,” प्रशिक्षक श्रेष्ठले भने। कप्तान यमबहादुर श्रेष्ठले टिम मजबुत र आत्मविश्वासले भरिएको बताउँदै उपाधि जित्ने विश्वास व्यक्त गरे।

चित्लाङ : ‘बदला’ मिशन लिएर मैदानमा

चित्लाङका प्रशिक्षक सुमन श्रेष्ठले लालीगुराँसलाई हल्का रुपमा नलिने स्पष्ट पार्दै भने, “लिगमा हारेका छौँ, फाइनल बदला लिन अवसर हो। अनुभवी खेलाडी भएकाले उपाधि जित्ने क्षमता हाम्रो टिममा छ।” कप्तान कुलदिप कार्कीले टिमको सामूहिक मेहनतले फाइनलसम्म ल्याएको बताउँदै अन्तिम खेलमा अझ सशक्त प्रदर्शन गर्ने बताए।

अघिल्लो भेटमा लालीगुराँसको जित

गत २५ कात्तिकको लिग चरणमा लालीगुराँसले चित्लाङलाई ३–० ले पराजित गरेको थियो। दुवै टिम समूह ‘ए’ का विजेता र उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हुन्।

Post Comments