तरहरा । पानबारी फुटबल क्लब, धरान जारी दोस्रो तरहरा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा पानबारीले खारखोला फुटबल क्लब, सुनसरीलाई पेनाल्टीमा हराउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
खेलको दशौं मिनटमा आकाश राईको गोलबाट खारखोलाले अग्रता बनाए पनि त्यो अग्रता पहिलो हाफ मै गुमाउन पुग्यो । उता पानबारीका लागि ३२औं मिनटमा अर्जुन लिम्बुले बराबरी गोल फर्काएका थिए । पेनाल्टी शुटआउटमा भने पानबारी ५–४ ले विजयी बन्यो ।
खेलमा पानबारीका बिपुल मगर प्लेयर अफ दि म्याच बने । उनलाई खेलका प्रमुख अतिथी समाजसेवी मनिष बस्नेतले नगद २५०० र ट्रफी सहित पुरस्कृत गरेका थिए । अब यही पुष १५ गते हुने फाइनलमा पानबारीले केराबारी फुटबल क्लब, मोरङसँग उपाधिका लागि भिड्नेछ ।
योङ ब्वाईज फुटबल क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
