बेसीशहर । न्युरोडटिम (एनआरटी) र लमजुङ मस्र्याङ्दी क्लब जारी ३३औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
आइतबार भएको पहिलो खेलमा एनआरटीले भानु युनाइटेडलाई १–० को साँघुरो अन्तरले हरायो । एनआरटीको जितमा चेतन चौधरीले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता एनआरटीका चेतन नै म्यान अफ दि म्याच बने ।
सहजी खेलमैदानमा भएको दोस्रो खेलमा लमजुङ मस्र्याङ्दीले सुर्यपुर फुटबल क्लबलाई २–० ले हरायो । लमजुङ मस्र्याङ्दीको जितमा समिर तामाङ र एरोन थापाले गोल गरे । खेलको म्यान अफ दि म्याच भने लमजुङ मस्र्याङ्दीका समिर तामाङ घोषित भए ।
प्रतियोगिता अन्तर्गत पुष १४ गते सोमबार ११ बजे हुने पहिलो खेलमा सातदोबाटो एफसी र लालीगुराँस क्लब, भुजुङ भिड्ने छन् भने २ बजे हुने दोस्रो खेलमा ठाडराई समाज र समाज कल्याण क्लब, काठमाडौं भिड्ने छन् ।
त्रिवेणी युवा क्लब, बेसीशहर, लमजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही पुष २१ गतेका दिन हुनेछ ।