बेसीशहर । घरेलु टोली त्रिवेणी युवा क्लब र चर्च ब्वाईज युनाइटेड यहाँ जारी ३३औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सहजी खेलमैदानमा भएको बुधबारको पहिलो खेलमा त्रिवेणीले श्री भगवती फुटबल क्लबलाई २–० ले हराउँदै अन्तिम आठको यात्रा तय गर्यो । त्रिवेणीको जितमा दुवै गोल प्रताप राईले गरे । घरेलु टोलीको जितमा नायक बनेका प्रताप राई नै प्लेयर अफ दि म्याच घोषित भए ।
त्यस्तै दिनको दोस्रो खेलमा चर्च ब्वाईजले बुद्ध युथ क्लबलाई पेनाल्टी शुटआउटमा ५–३ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टीमा चर्च ब्वाइृजले नतिजा आफ्नो पक्षमा पारेको हो । खेलमा चर्च ब्वाईजका गोलरक्षक रेम्बो चौधरी प्लेयर अफ दि म्याच चुनिए ।
त्रिवेणी युवा क्लब, बेसीशहर, लमजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही पुष २१ गतेका दिन हुनेछ ।
Photo: Church Boys United