News आयोजकका दुवै टोली श्रीजङ राय स्मृति फुटबलको सेमिफाइनलमा
रमेश समदर्शी

ह्वाकु (तेह्रथुम) । आयोजकका दुवै टोली यहाँ जारी श्रीजङ राय स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

छैटौ संस्करणको आज भएको दुई क्वाटरफाइनल खेलबाट आयोजकको टिम 'ए' र टिम 'बी' अन्तिम चारमा प्रवेश गरेका हुन् । श्रीजङ राय पापो समाज टिम 'ए' को कप्तानी ताङसाङ इङनाम र टिम 'बी' को कप्तानी मित्र इङनामले सम्हालेका छन् ।

पहिलो क्वाटरफाइनल खेलमा टिम 'बी' ले साविक विजेता योङ ब्वाइज झापामाथि टाइब्रेकरमा ५-४ गोलअन्तरमा पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेका थिए ।

सुरूवाती अग्रता झापाका कप्तान सम्योग गौतमले खेलको २२औँ मिनेटमा गरेको गोलबाट भए पनि टिम 'बी'का लागि टासी लामाले २५औँ मिनेटमा बराबरी गरेका थिए ।

झापाका लागि खेलको २९औँ मिनेटमा दिपेश लिम्बूले गोल गरेर अग्रता दोब्बर बनाए पनि आयोजक टिम 'बी' का रोशन इङनामले ३९औँ मिनेटमा बराबरी गोल फर्काएका हुन् ।

टाइब्रेकरमा झापाका दिपेश लिम्बूका प्रहार बाहिरिएको थियो भने रुपेश राई, सम्योग गौतम, मनिष लिम्बू र अतित राईको प्रहारमात्र गोलमा परिणत भयो । आयोजकका लागि सौरभ इङनाम, रोशन इङनाम, ताङसाङ इङनाम, विप्लव इङनाम र सन्दिप इङनामको प्रहार गोलमा परिणत भएको हो । खेलको प्लेयर अफ दी म्याच आयोजकका गोलरक्षक सौरभ इङनाम भए । उनले नगद एक हजारसहित ट्रफी पाए ।

दोस्रो क्वाटरफाइनल खेलमा आयोजकको 'ए' टिमले कालिपा यावन एफसीमाथि गोलवर्षा नै गर्यो । सेमिफाइनल प्रवेशका लागि ६-१ गोलअन्तरको नतिजा निस्किएको हो ।

जसमा कप्तान ताङसाङ इङनाम र अनुप सेन्दाङले समान २-२ गोल गर्दा भाइचुङ शेर्पा र पवन लिम्बूले समान १-१ गोल गरे । खेलेका प्लेयर अफ दी म्याच अनुप सेन्दाङ भए । उनले नगद १ हजारसहित ट्रफी पाए ।

यसअघि भएका दुई प्रिक्वाटरफाइनल खेलमा न्यू ब्वाइज फुलबारी ताप्लेजुङ र डाँगी एफसी विजयी हुँदै क्वाटरफाइनल खेलमा प्रवेश गरेका थिए । फूलबारीले खाम्लालुङ एफसीमाथि टाइब्रेकरमा ४-३ गोलअन्तरमा पराजित गरेको हो ।

यस्तै, डाँगी एफसीले युथ स्पोर्टिङ थोक्लुङमाथि ४-० गोलको फराकिलो जित निकालेको हो । उसका ला िसनम सिरुवाल र दिपेश लिम्बूले समान २-२ गोल गरेका थिए । भोलि दुई क्वाटरफाइनलका खेल हुनेछन् ।

इङनाम इवाहाङ युवा समाजले आयोजना गरेको प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार ५५५ र उपविजेताले नगद ७५ हजार ५५५ सहित ट्रफी पाउने छ ।

Post Comments