काठमाडौं (एजेन्सी) । मोरक्कोमा सम्पन्न प्रतिष्ठित ३५औं अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको उपाधि सेनेगलले दोस्रोपटक जित्न सफल भएको छ । सेनेगलले यसअघि सन् २०२१ मा यो उपाधि पहिलोपटक जितेको थियो ।
आइतबार अबेर राती सम्पन्न फाइनलमा सेनेगलले घरेलु टोली मोरक्कोलाई १–० को अन्तरले हराउँदै अफ्रिकाको च्याम्पियन बन्न सफल भएको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि थपिएको अतिरिक्त समयको ९४औं मिनटमा पेपे अलसानेले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो ।
त्यस्तै नाइजेरियाले तेस्रो स्थान हासिल गर्यो । तेस्रो स्थानका लागि भएको प्ले अफ म्याचमा नाइजेरियाले इजिप्टलाई पेनाल्टी शुटआउटमा हराएको थियो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा नाइजेरियाले इजिप्टमाथि ४–२ को जित निकालेको थियो ।
स्मरण रहोस, सेमिफाइनलमा इजिप्टले सेनेगलसँग हार बेहोरेको थियो भने नाइजेरिया मोरक्कोसँग पराजित भएको थियो । अब प्रतियोगिताको आगामी संस्करण सन् २०२७ मा केन्या, तान्जानिया र युगान्डाले संयुक्त रुपमा आयोजना गर्नेछ ।