News लामा समाज र पापो समाज श्रीजङ राय स्मृति फुटबलको फाइनलमा
रमेश समदर्शी

ह्वाकु (तेह्रथुम) । लामा गुरुङ एकता समाज र श्रीजङ राय पापो समाज ह्वाकु यहाँ जारी श्रीजङ राय स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

माैलाडाँडा खेलमैदानमा आज भएको छैटौ संस्करणको दुई सेमिफाइनल खेलबाट लामा गुरुङ एकता समाज र श्रीजङ राय पापो समाज फाइनलमा प्रवेश गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा लामा समाजले श्रीजङ राय पापो समाजको बी टिमलाई टाइबेकरमा ४-३ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबर िखेलेका थिए ।

खेलको २७औँ मिनेटमा पापो समाजका तरङ इङनामले गोल गर्दै अग्रता दिलाएका थिए । तर, लामा समाजका सागर श्रेष्ठले खेलको ३९औँ मिनेटमा बराबरी गोल फर्काएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा पापो समाजका कप्तान रोशन इङनामको प्रहार पोलमा लाग्दै बाहिरियो भने गोलरक्षक मिराक खजुमको प्रहार पनि बाहिरिएको थियो । तरङ इङनाम, सन्तोष गुरूङ र टासी लामाको प्रहारमात्र गोलमा परिणत भयो ।

लामा समाजका लागि सुबास तामाङ, सन्तोष खजुम, सागर श्रेष्ठ र गौरव गुरूङको प्रहार गोलमा परिणत हुँदा गोलरक्षाक तथा कप्तान प्रेम लिम्बूको प्रहार पापो समाजका गोलरक्षक मिराक खजुमले रोकेका थिए । खेलको प्लेयर अफ दी म्याच प्रेम लिम्बू भए ।

अन्तिम सेमिफाइनल खेलमा पापो समाजको ए टिमले जलकन्या एफसीमाथि २-१ गोलको कठिन जित निकालेर फाइनलमा स्थान सुरक्षित गरेको हो । पापो समाजका लागि पहिलो हाफमै २ गोल सम्भव भएको थियो ।

खेलको २६औँ मिनेटमा पापो समाजका सुमन लिम्बूले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै, २८औँ मिनेटमा दिप्सन लिम्बूले टोलीको अग्रता दोब्बर बनाएका हुन् ।

जलकन्याका लागि पासाङ शेर्पाले खेलको ५९औँ मिनेटमा सान्त्वना गोल फर्काएका हुन् । खेलको प्लेयर अफ दी म्याच पापो समाजका दिप्सन लिम्बू भए । उनले नगद १ हजारसहित ट्रफी पाए ।

इङनाम इवाहाङ युवा समाजले आयोजना गरेको प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार ५५५ र उपविजेताले नगद ७५ हजार ५५५ सहित ट्रफी पाउने छ ।

Post Comments