पालडाँडा । राइजिङ स्टार फुटबल क्लब, नवलपरासी यहाँ जारी पालडाँडा कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको क्वाटरफाइनलतर्फ राइजिङ स्टारले मोन्स्टर गाईज, सुनवललाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ मोन्स्टरका लागि निखिल पुनले गोल गरेका थिए भने राइजिङका लागि रजिब थापाले गोल गरेका थिए । पेनाल्टी शुटआउटमा भने राइजिङ ५–४ ले विजयी बन्यो । खेलमा राइजिङका रजिब थापा म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत माघ १५ गते बिहीबारको क्वाटरफाइनल खेल डि.वाई.डि.ए., दुम्कीबास र पाुहना टोली आसाम, भारत बीच हुने आयोजकले जानकारी दियो ।
सगरमाथा सामुदायिक विकास प्रतिष्ठान, बर्दघाट–५, पालडाँडा, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने माघ १९ गतेका दिन हुनेछ ।