आठराई । तेह्रथुमको आठराईमा सुरू भएको जिल्लाकै पहिलो प्रथम आठराई आमन्त्रित भेट्रान्स गोल्डकपमा तिजोक भेट्रान्स क्लब पॅाचथर र धरान १३ भेट्रान्स क्लब सुनसरी सेमिफाइनलमा प्रवेश गरेका छन ।
आठराईको सक्रान्ति बजार स्थित त्रि मोहन मा.वि.को नव निर्मित खेल मैदानमा शनिबार सम्पन्न पहिलो क्वाटर फाइनलमा आयोजक आठराई भेट्रान्स क्लबलाई ३-१ गोलले पराजित गर्दै तिजोक भेट्रान्स सेमिफाइनल पुगेको हो ।
तिजोकको जितका लागि हेमराज आङदेम्बेले ह्याट्रिक पूरा गरे भने आठराइको तर्फबाट विशाल गुरूङले एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच तिजोकका हेमराज आङदेम्बो घोषित भए ।
त्यस्तै शनिबार नै सम्पन्न दोस्रो क्वाटर फाइनलमा फेमेगुरू भेट्रान्स इलामलाई पेनाल्टि सुट आउटमा ५-४ गोल अन्तरले पराजित गर्दै धरान १३ भेट्रान्सले सेमिफाइनल स्थान पक्का गरेको हो । खेलको निर्धारित समयमा दुबै टिमबाट दुई दुई गोलको बराबरी भएपछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो ।
निर्धारित समयमा धरानको तर्फबाट प्रकाश लिम्बु र जिवन लिम्बुले एक एक गोल गरे भने इलामका लागि प्रज्वल मुखिया र सन्तोष राइले एक एक गोल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच धरानका गोल रक्षक लाक्पा दोर्ची शेर्पा घोषित भए । दुबै खेलका म्यान अफ दि म्याचले दुइ दुइ हाजार प्राप्त गरे । प्रतियोगिताको दोस्रो दिन माघ १८ गते क्वाटर फाइनलका बाकी दुइ खेल हुने खेल तालिका रहेको छ ।
तेस्रो क्वाटर फाइनलमा आइतबार बेलका भेट्रानस उदयपूर र बौद्ध भेट्रान्स पॅाचथर र चौथो क्वाटर फाइनलमा फिदिम भेट्रान्स क्लब पॅाचथर र ताप्लेजुङ भेट्रान्स बिच प्रतिस्पर्धा हुनेछ ।